नेपाल एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार मलेसियाको वाईएसडी यूकेएम ओभल मैदानमा जापानलाई ९ विकेटले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
जापानले प्रस्तुत गरेको ८७ रनको लक्ष्य नेपालले मात्र ११.२ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि सावित्री धामीले नटआउट रहँदै ४१ रन बनाइन् । उनले ३२ बलमा ७ चौका प्रहार गरिन् ।
कप्तान सोनी पाख्रिन पनि २२ बलमा १८ रन बनाउँदै नटआउट रहिन् । उनले २ चौका प्रहार गरिन् । ओपनर साना प्रविणले १६ बलमा ३ चौकाको मद्दतले १८ रन बनाइन् ।
यसअघि, जापान निर्धारित २० ओभरमा ८६ रनमा अलआउट भएको थियो । टोलीका लागि कप्तान वियांका सिनोले सर्वाधिक ३८ रन बनाइन् । आयाने सकुराबा र किचो सुजुकीले समान १०-१० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जापानलाई सस्तोमा समेट्न रिया शर्मा र कृष्मा गुरुङले २-२ विकेट लिइन् । अनु कडायत, मनिषा उपाध्याय र सोनी पाख्रिनले १-१ विकेट हात पारे ।

