प्रतिष्ठित चिकित्सक, संविधान सभा सदस्य तथा मिथिला संस्कृतिका जानकार डा. विजयकुमार सिंहको एउटा पुरानो स्टेटश स्मरण आयो । झण्डै चार वर्ष अघि उहाँले आफ्नो फेसबुक वालमा लेख्नु भएको थियो– ‘हेरीटेज सिटी जनकपुरधाममा के पुराना विरासतहरुको कुनै अवशेष सुरक्षित राख्न सकिएको छ ? पुराना विरासतलाई भत्काएर नयाँ जनकपुर बनाउन खोलेका हौ कि पुरानालाई संरक्षण गर्दै नयाँ संरचना बनाउन चाहेका हौ ? पुराना पहिचानलाई संरक्षित गर्दै आधुनिक सहर निर्माण गर्नु नौलो होईन, भारतको राजधानीदिल्लीको विकल्पमा नयाँ दिल्ली, काठमाण्डौको जमल,भक्तपुर, मंगलबाजार,भारतको देवघर, बनारस,कोलकतासंगै अनेकौ युरोपियन मुलुकहरु यसका उदाहरण हुन् ।जहाँ आधुनिकताको चमकदमकसंगै मौलिक पहिचानको भव्य इमारतहरु पनि सुरक्षित छन् ।
लगभग३ सय वर्ष अघि महात्मा सूरकिशोर दास र चतुर्भुज गिरी जनकपुर आएका थिए । दुबै साधुको जनकपुर आगमनसंगै आधुनिक जनकपुरको इतिहास सुरु भएको थियो । जानकी मन्दिर निर्माण भएको करीव १ सय २५ वर्ष पुगेको छ । जानकी मन्दिर सञ्चालनको लागि सेनवंशी राजाले १४०० बिगहा जग्गा कुशबिर्ता दिएको इतिहास वर्णित तथ्य हो । जानकी मन्दिर निर्माण अघिका बारहवीघा रंगभूमि मैदान, पहरिया गाछी, रामगाछी,तिरहुतिया गाछी,पहरिया गाछी, ५२ बिगहा मैदान, जानकी मन्दिर फूलवारी, गंगासागर, धनुषसागर, गोरधोई पोखरी, जनकसरोवर आदि ऐतिहासिक सम्पदाहरुको अवस्था हामी सबैलाई थाहै छ ।
वकिल मोहल्ला स्थित जनकसरोवरमा फुलवारी लगाएर निजी बनाएका व्यक्तिलाई जानकी मन्दिरका महन्त स्वयंले मोटा मोटा फूलको माला लगाई दिएको दृश्य हेर्नेमा म स्वयं पनि छु । तर आज हामीले चर्चा गर्न खोजेको विषय हो– गृहमन्त्री फकिरा महतो र जानकी मन्दिर महन्त बीचको विवाद । स्टन्टमा रमाउँने मन्त्री महतो जानकी मन्दिरभित्र सञ्चालित म्युजियमको हर हिसाब माग्नु भयो रे’ रामजानकीविवाह मण्डपको प्रवेश रसिद नियन्त्रणमा लिनु भयो रे’ ।
त्ससपछि जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव विवाह मण्डप प्रवेशमा रोक लगाउनु भयो । म्युजियममा पनि ताला लगाउनु भयो ।जनकपुरवासी बुझ्नै सकेका छैनन्– जानकी मन्दिर महन्तजीको हो कि सम्पूर्ण हिन्दु धर्माम्बलम्बीहरुको ??? यद्यपि मन्त्री फकिरा महतो यस अघि नगर क्षेत्रको फुटपाथ खाली गर्ने अभियान चलाउनु भएको थियो । एक महिना नबित्दै जनकपुरको फुटपाथ पुनः गुलजार हुन थालेको छ । होटलहरुको अनुगमन गर्ने अभियान पनि चलाउनु भयो । पछिल्लो पटक जानकी मन्दिरको आयश्रेस्ताको खोजी गर्न थाल्नु भएको छ । अब हेर्न बाँकी छ, यो अभियान कति दिन चल्ने हो ? कस्तो परिणाम ल्याउने हो ? ‘जानकी मन्दिरमात्र होईन, जनकपुरका अन्य मठ–मन्दिरहरुको आय–व्यय पारदर्शी छैन् । विभिन्न बहाना बनाएर जग्गा जमिन बिक्री हुंदैछ । मन्दिर भित्र पूजा– पाठ भन्दा नाच–तमासा बढि हुन्छ । महन्तजीहरु राजनीतिक दलका नेताहरुको वरिपरि बस्न मन पराउनु हुन्छ । आदि ईत्यादि ।’ पछिल्ला दिनहरुमा जनकपुरवासीको चिन्ता र चिन्तनको विषय बनेको छ ।
मन्त्री महतो यस्तै चिन्ताहरुबाट चिन्तित हुनु हुन्छ भने उहाँले केहि थान चिन्ता अझै थप्नु पर्ने हो । त्यो के भन्ने– ‘यदिम्युजियमलाई ठेक्कालगाइएनभन्ने यसको संचालनमा खटेका कर्मचारी, यसको मर्मत संभार आदि कस्ले गरि दिने ? जाबो केहि लाख महसूल बुझाउन नसकेको कारण जानकी मन्दिरको विजुली पटक पटक काटिएको चुरो कुरो मन्त्री महोदयलाई थाहा छ कि छैन ?? जानकी मन्दिरलाई ट्रष्टमा लग्नु पर्ने मांग नयाँ होईन । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष भोजराज घिमिरे नेतृत्वको उच्च स्तरीय कार्यदलले २०६३ सालमै नेपाल सरकारलाई बुझाएको रायसहितको सिफारिसमा प्रष्ट उल्लेख छ– ‘राममन्दिर र जानकी मन्दिरजस्ता आर्थिक रुपले अत्यन्त सबल मन्दिरहरुको सुव्यवस्थानार्थ ट्रष्ट वा कोषको अपरिहार्यता स्वीकार गर्दै ट्रष्टको वैधानिक स्वरुप कायम नहुञ्जेलसम्मका लागि मन्दिर व्यवस्थापन समिति गठन गरी ती मन्दिर हरुको प्रभावकारी व्यवस्थापन र सञ्चालन गर्नु उपर्युक्त हुने छ ।’मन्त्री महोदय उक्त प्रतिवेदन पढेर न्यायिक रुपमा अघि बढ्नु भएको भए, राम्रो हुन्थ्यिो कि ?? गृहमन्त्रीफकिरा महतोसंग मेरो निजी आग्रह– सक्नु हुन्छ भने भोजराज घिमिरे लगायतका अन्य प्रतिवेदनहरु कार्यान्वयन गराउन पहल गर्नु, जानकी मन्दिरको आय थुन्नु भन्दा पहिले मन्दिर सञ्चालनको दिगो प्रबन्ध मिलाउँनु, जानकी मन्दिरको नाममा कम्तीमा खाता खोल्नु लगाउनु, गुठी संस्थानले जानकी मन्दिरबाट लगेको बहुमूल्य आभूषणहरु फिर्ता ल्याउने प्रयास गर्नु अनि चर्किन र भत्किनलागेको जानकी मन्दिरको वैज्ञानिक मर्मत संभारतर्फ ध्यान दिनु । नभए सबभन्दा धनी भनिएको राममन्दिरको उदाहरण हाम्रो सामु छदै छ ।
जनकपुर उपमहानगर पालिकाकापूर्व मेयर बृषेशचन्द्र लाल जानकी मन्दिरको पश्चिममा अवस्थित मस्जिदलगायतका भौतिक संरचनाको संरक्षण आवश्यक रहेको बताउछन् । मन्दिर वरिपरिका प्राचीन संरचना संरक्षणको प्रयास नभएको कारण अचेल सम्पूर्ण संरचना नयामात्र रहेको पूर्व मेयर लालको कथन छ ।

