२०८३ श्रावण २, शनिबार ०८:५०

जानकी प्लाष्टिक उद्योगका सञ्चालक नवल मुरारका भन्ने नवकृष्ण मुरारकालाई अदालतले ७ दिनको म्याद थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा रहेका मुरारकालाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरिएको छ । अनुसन्धानका लागि प्रहरीले अदालतबाट थप म्याद मागेको थियो । प्रहरीले उनलाई बिहीबार जनकपुरधामबाट पक्राउ गरी ल्याएको थियो । मार्वल कम्पनीको लोगो र नाम प्रयोग गरी नक्कली ‘बोरबेल’ (पाइप) उत्पादन गरी तीन वर्ष बढी समयदेखि बजारमा बिक्री वितरण गर्दै आएका थिए ।

मुरारकाले उत्पादन गरेको बोरबेल भारी परिमाणमा गोलबजार स्थित नेहाल हार्डवेयरबाट प्रहरीले बरामद गरेको थियो । त्यस क्रममा नेहाल हार्डवेयरका सञ्चालक मोहम्मद साबिर खानलाई नियन्त्रणमा लिएको थियो । उनको बयानको आधारमा जानकी पाइप उद्योगमा प्रहरीले छापामारी गर्दा समेत भारी परिमाणमा बिभिन्न साइजका तयार बोरबेल पाइप बरामद भएको थियो । प्रहरीले साबिर र मुरारकालाई नियन्त्रणमा लिए पनि अनुसन्धानको दायरामा अझै ९ जना रहेको बताइएको छ ।

मुरारकी पत्नी अनिता मुरारकाको नाममा बढी शेयर रहेको बताइएको छ । तर प्रहरीले उनलाई अनुसन्धानका लागि सोधपुछ नगरेको बताइएको छ । मुरारकाको नागरिकतामाथि समेत अनुसन्धान थालिएको स्रोतले जनाएको छ ।प्रहरी स्रोतहरुका अनुसार उनी भारत बिहार राज्यको मधुबनी जिल्लाको बासोपट्टी थाना घर भएका भारतीय नागरिक रहेका छन् ।

नेपालमा उनले प्राप्त गरेको नागरिकताको विवरण ढाँटेको जानकारी आएकोले त्यसतर्फ पनि अनुसन्धान हुने स्रोतले जनाएका छन् । उनले २०६५ साल वैशाख १८ गते जन्मसिद्धको आधारमा नागरिकता प्राप्त गरेको बताइएको छ । २०३० साल भदौ १५ गते जन्ममिति उल्लेख गरिएको मुरारकाले ३५ वर्षपछि मात्र जन्मको आधारमा नागरिकता प्राप्त गरेको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News