२०८३ श्रावण २, शनिबार १३:५०

देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीको सूचनाअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा ठप्प छन्।

कोशी प्रदेशमा मेची राजमार्गका दुई ठाउँमा सडक अवरुद्ध भएको छ। इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरो र वर्षाका कारण यातायात पूर्ण रूपमा बन्द छ। यद्यपि, भोजपुरको मध्य पहाडी लोक मार्गमा भने बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको बिपी राजमार्ग र मकवानपुरको कान्ति लोक पथमा सुरक्षाका कारण सवारी साधन चल्न दिइएको छैन। यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जिरोकिलो र कोदारीमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटको ककनीमा पनि पहिरोले बाटो छेकेको छ।

गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

यात्रामा निस्कनुअघि नजिकैको प्रहरी कार्यालय वा सडक विभागको सूचना हेर्न र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।

image-275-1536x1187-1784344763.png

Comment


Related News