सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ ।
सप्तरीको राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागारमा जेलर मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरूले थालेको आन्दोलनका कारण कारागार परिसर तीन दिनदेखि तनावग्रस्त बनेको छ । चौकीदार नियुक्तिको नाममा आर्थिक अनियमितता भएको आरोप लगाउँदै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले जेलर मण्डलको तत्काल सरुवा, घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् । कैदीबन्दीहरूले जनाएका अनुसार कारागारभित्र चौकीदार नियुक्ति प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको छ । उनीहरूले चौकीदार बनाइदिने प्रलोभन देखाएर विभिन्न कैदीबन्दीबाट रकम असुलिएको आरोप लगाएका छन् ।
यही विषयलाई लिएर कारागारभित्र असन्तुष्टि बढ्दै गएपछि आन्दोलन सुरु भएको बताइएको छ । आन्दोलन नियन्त्रणमा लिन नेपाल प्रहरीले बल प्रयोग गरेपछि अवस्था थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । स्रोतका अनुसार कैदीबन्दीहरूले आत्मदाहको चेतावनी दिएपछि प्रहरी तत्काल पछि हटेको थियो । घटनापछि कारागारभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । यसैबीच राजविराज नगरपालिका–१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले गम्भीर आरोप लगाएका छन् ।
उनले आफूलाई चौकीदार बनाइदिने आश्वासन दिएर चौकीदार कामेश्वर यादवले गत जेठ ५ गते कारागार बाहिरका विनोद यादव नामका व्यक्तिमार्फत जेलर रूपक मण्डलको नाममा पाँच लाख रुपैयाँ घुस लिएको दाबी गरेका छन् । उक्त रकम लिए पनि आफूलाई चौकीदार नबनाइएको र रकम समेत फिर्ता नदिएको उनको आरोप छ। यद्यपि यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन् । घटनापछि कारागार प्रशासनले चौकीदार कामेश्वर यादवलाई झुम्का कारागार सरुवा गर्ने तयारी थालेको विषय पनि विवादको कारण बनेको बताइएको छ । आन्दोलनरत कैदीबन्दीहरूका अनुसार सरुवाको निर्णयपछि बी–ब्लकका केही कैदीमाथि कुटपिटसमेत भएको थियो, जसले आन्दोलनलाई थप चर्काएको उनीहरूको दाबी छ । सुरक्षा संवेदनशीलता बढेपछि प्रशासनले कारागार क्षेत्रमा कडा निगरानी बढाएको छ । सञ्चारकर्मीहरूलाई समेत घटनास्थलमा पुगेर समाचार संकलन गर्न रोक लगाइएको जनाइएको छ ।
यसले घटनाबारे स्वतन्त्र सूचना संकलनमा कठिनाइ भएको सञ्चारकर्मीहरूले बताएका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारभित्रको अवस्था नियन्त्रणमा रहेको बताएका छन् । उनले जनाए अनुसार कारागारको शान्ति–सुरक्षा कायम गर्न प्रहरी भित्र प्रवेश गर्ने क्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर विरोध जनाएका थिए। अहिले प्रशासन र कारागार व्यवस्थापनले कैदीबन्दीहरूसंग संवाद तथा सम्झाइबुझाइ गरिरहेको र अवस्था क्रमशः सामान्य बन्दै गएको उनले जानकारी दिए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी थापाका अनुसार विवादको अर्को कारण बी– ब्लकका चौकीदार राम रिझनले कैदीबन्दीप्रति समान व्यवहार नगरेको भन्ने गुनासो पनि रहेको छ ।यही विषयलाई लिएर कैदीबन्दीबीच विवाद उत्पन्न भएको र त्यसपछि आन्दोलन चर्किएको उनको भनाइ छ । घटनाले कारागार प्रशासनभित्रको व्यवस्थापन, चौकीदार नियुक्ति प्रक्रिया तथा कैदीबन्दीमाथिको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ । आन्दोलनरत कैदीबन्दीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
उता प्रशासनले शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको जनाएको छ ।

