अपडेट 
२०७७ जेष्ठ २, शुक्रबार १२:५०

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको दुई पटक तथ्याक सार्वजनिक गर्दा तीन वटा जिल्लाका बासिन्दालाई तनाव सहनुपरेको छ । धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा मन्त्रालयले दुई पटक जानकारी गराएको हो ।

मन्त्रालयले बिहीबार बिहान गरेको नयाँ अपडेट अनुसार कुल २ सय ५० जना संक्रमित भएको जनाएको थियो । तर यी २ सय ५० जनामा दुई दिन अगाडि नै संक्रमित भनिसकिएका धनुषाको जनकपुरधाम उप महानगरपालिकाका ४० बर्षीय पुरुष, मिथिला नगरपालिका १० लालगढका २० बर्षीया महिला तथा महोत्तरीको जलेश्वर नगरपालिकाका ३५ बर्षीय पुरुष तथा महोत्तरीकै बलवा नगरपालिकाका १६ बर्षीय बालक र सर्लाहीको हरिपूर्वा नगरपालिका ३ धनकौलका ४५ बर्षीय पुरुष भनिँदा यी जिल्लामा तनाव उत्पन्न भएको थियो ।

यी पाँचै जनालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा बुधबारै ल्याइसकिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मन्त्रालयले सार्वजनिक गरेको नयाँ अपडेटमा थपिएका यी पाँच जना पुरानै तथ्य भएको बताए । ‘हामी यी व्यक्तिलाई आइसोलेसनमा ल्याइसकेका छौं’ उनले भने, “पुरानै तथ्य हालेर अपडेट गरिएको छ ।”

मन्त्रालयले मंगलबार राति धनुषाका २ जना, महोत्तरीका २ जना र १ जना सर्लाहीका संक्रमित भएको जनाएको थियो । महोत्तरीको जलेश्वरका भनिएका ३५ बर्षीय पुरुष जनकपुरधाममा पुस्तक व्यवसाय गर्दै आएका छन् ।

महोत्तरीकै बलबा नगरपालिकाका १६ बर्षीय बालक भारतबाट भागेर आएपछि नगराइनस्थित क्षेत्रिय क्वारेन्टाइनमा राखिएको थियो ।

धनुषाका २० बर्षीया भनिएको महिला मिथिला नगरपालिका १० लालगढको भएको पाइएको छ । भारतको राजधानी दिल्लीमा श्रीमान् र छोरासँग बस्दै आएकी ती महिला गत चैत १ गते नै यहाँ आएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

मन्त्रालयले जनकपुरधामका ४० बर्षीय पुरुष भने पत्रकार हुन् भने सर्लाहीको हरिपूर्वा नगरपालिका ३ का ४५ बर्षीय पुरुष मानसिक सन्तुलन ठीक नभएका व्यक्ति हुन् । यी पाँचै जनालाई आइसोलेसनमा ल्याइसकिएपनि मन्त्रालयले यिनीहरुकै तथ्यांक सार्वजनिक गरेको थियो ।

पछि मन्त्रालयले यो विवरण सच्चयाएको थियो ।

Comment


Related News

Latest News

Trending News