२०८३ श्रावण ९, शनिबार १६:४७

वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। शनिबार बिहान करिब ११ बजे वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्तले आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड गरेका हुन्।

मृतकका भतिजा विकास पटेलका अनुसार छातीमा असह्य पीडा भएपछि राजकुमारलाई तत्काल नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो। तर चिकित्सकले केही औषधि लेखिदिए पनि अस्पतालमा आवश्यक इसिजी (ECG) उपकरण तथा अन्य अत्यावश्यक उपचार सामग्री उपलब्ध नभएको र सामान्य औषधिसमेत सहज रूपमा नपाएको आरोप उनले लगाए। उपचारमा ढिलाइ र आवश्यक सेवा नपाउँदा बिरामीको ज्यान गएको उनको दाबी छ।

घटनापछि आक्रोशित आफन्तले आकस्मिक कक्षमा तोडफोड गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो। घटनाका क्रममा स्थानीय बिटमा खटिएका एक प्रहरीमाथि हातपात भएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रराज मल्लका अनुसार प्रहरीमाथि हातपात गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ। अस्पतालको अवस्था अहिले सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

यता, अस्पताल प्रशासनले घटनाबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। यसले उपचारमा लापरबाही भएको आरोपबारे थप जिज्ञासा र प्रश्न उठाएको छ।

मृतकका आफन्तले भने उपचारमा गम्भीर लापरबाही भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यस घटनाले सरकारी अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा, अत्यावश्यक उपकरणको अवस्था तथा आकस्मिक उपचार व्यवस्थापनको प्रभावकारितामाथि पुनः प्रश्न खडा गरेको छ। घटनाको वास्तविक कारण छानबिनपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।

Comment


Related News

Latest News

Trending News