कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि, जल, जमिन र प्राकृतिक स्रोतको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै दिगो विकासका लागि सबै तहका सरकार र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् । उनले वन तथा वातावरण संरक्षणसंगै प्रांगारिक कृषि प्रवद्र्धन, माटोको उर्वराशक्ति संरक्षण र किसानमैत्री कार्यक्रमलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिइन् ।
धनुषाको धनुषाधाम नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वन र पर्यावरणको संरक्षणबिना मानव अस्तित्व नै संकटमा पर्ने उल्लेख गरिन् । प्राकृतिक स्रोतको संरक्षण कुनै एक निकायको मात्र जिम्मेवारी नभई सरकार, स्थानीय तह, समुदाय र नागरिक सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।
उहाँले सडक तथा भौतिक पूर्वाधारको विकासले मात्र देश समृद्ध नहुने उल्लेख गर्दै कृषि, वन, जलस्रोत, जमिन र वातावरणको संरक्षणसँगै समग्र विकासलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् । देश निर्माणका लागि आर्थिक, सामाजिक र वातावरणीय पक्षबीच सन्तुलित विकास अपरिहार्य रहेको उनले बताइन् । बाल्यकालदेखि ‘हरियो वन नेपालको धन’ र ‘नेपाल कृषि प्रधान देश हो’ भन्ने शिक्षा प्राप्त गरे पनि व्यवहारमा कृषि र वन क्षेत्रले अपेक्षित प्राथमिकता नपाएको उल्लेख गर्दै मन्त्री चौधरीले अब ती क्षेत्रलाई थप सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताइन् । उनले जनाए अनुसार माटो सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरी उत्पादन वृद्धि र प्राकृतिक स्रोतको संरक्षणलाई एकसाथ अघि बढाइनेछ ।
मन्त्री चौधरीले सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एउटा प्राणी उद्यान स्थापना गर्ने योजना अघि बढाएको जानकारी दिँदै सोही योजनाअनुसार मधेस प्रदेशमा पनि प्राणी उद्यान निर्माण गरिने बताइन् । यसबाट जैविक विविधताको संरक्षण, वन्यजन्तु व्यवस्थापन तथा पर्यापर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन् । उनले संघीय र प्रदेश सरकार एउटै राज्य संरचनाका अभिन्न अंग भएकाले आपसी सहकार्य, समन्वय र साझेदारीबाट मात्र प्रभावकारी परिणाम हासिल गर्न सकिने बताइन् ।
मधेश प्रदेशमा कृषि, वन तथा वातावरण संरक्षणका कार्यक्रमलाई सफल बनाउन सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता उनले औँल्याइन् । कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले वनजंगल संरक्षणबिना मानव जीवन नै संकटमा पर्ने उल्लेख गर्दै वन संरक्षण अभियानमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले वन संरक्षणलाई जीवन संरक्षणसँग जोडेर हेर्नुपर्ने धारणा राखे ।
सो अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीले सबडिभिजन वन कार्यालय परिसरमा कल्पवृक्षको बिरुवा रोप्नुका साथै धनुषाधाम वनस्पति उद्यानस्थित नक्षत्र वाटिकामा राशि अनुसारका बिरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गरिन् । यसैबीच, मन्त्री चौधरीले धनुषाका विभिन्न स्थानमा पुगेर किसानसंग प्रत्यक्ष अन्तरक्रिया गर्दै प्रांगारिक खेतीको विस्तार र स्थानीय स्रोतमा आधारित मलको प्रयोग बढाउन आग्रह गरेकी छन् । उनले रासायनिक मलमाथिको अत्यधिक निर्भरता घटाएर गोठे मल, कम्पोष्ट मल तथा अन्य प्रांगारिक मलको प्रयोग बढाउन सके दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति संरक्षण गर्न सकिने बताइन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित कस्टम हायरिङ सेन्टरको निरीक्षण गर्दै मन्त्री चौधरीले कृषि आधुनिकीकरणमा यान्त्रिकीकरणसंगै माटोको स्वास्थ्य संरक्षणलाई समान महत्व दिनुपर्ने बताइन् । किसानलाई स्थानीय स्रोत र प्रविधिको अधिकतम उपयोग गर्न आग्रह गर्दै उहाँले दिगो कृषि प्रणालीको विकास नै भविष्यको आवश्यकता भएको बताइन् । त्यसक्रममा उनले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, आधुनिक माछापालन फार्म तथा आँप बगैंचाको समेत अवलोकन समेत गरिन् । बटेश्वर गाउँपालिका–५ शान्तिपुरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालि र चित्रनगरस्थित व्यावसायिक आँप बगैंचाको निरीक्षण गर्दै उनले कृषि व्यवसायीलाई उत्पादन वृद्धि, गुणस्तर सुधार र वातावरणमैत्री खेती प्रणाली अपनाउन आग्रह गरिन् ।
मन्त्री चौधरीको जनाए अनुसार सरकार उत्पादनमुखी, वातावरणमैत्री तथा दिगो कृषि प्रणालीलाई प्रोत्साहन गर्ने नीति अनुरूप किसानसम्म प्रत्यक्ष पुगेर प्राविधिक सुझाव, प्रोत्साहन र आवश्यक सहयोग उपलब्ध गराउने अभियानलाई निरन्तरता दिने तयारीमा रहेको छ ।

