२०८३ श्रावण ११, सोमबार ११:४८

सुनसरीको देवानगञ्जमा दुई समुदायबीच हिंसात्मक झडप भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति साउन महिनाको बोलबमका लागि हिन्दु धर्मावलम्बीहरू डिजे बजाउँदै जाने क्रममा अर्को समुदायसँग विवाद भएको थियो। स्थानीय स्तरमा स्थिति सम्हाल्ने अनुभवी र आधिकारिक कमान्डरको उपस्थिति नहुँदा सुरुमा प्रहरी चौकीबाट खटिएको सानो टोलीले परिस्थिति नियन्त्रणमा लिन सकेन। त्यसपछि दुवै पक्षबाट चिर्पट, ढुंगा, लाठी र भाला बोकेर मानिस सडकमा उत्रिँदा स्थिति नियन्त्रणा बाहिर पुगेको थियो।

मैदानमा खटिएका सुरक्षाकर्मीबीच पूर्वतयारी र समन्वय अभाव देखिँदा झडपमा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित ८ नेपाल प्रहरी र ५ सशस्त्र प्रहरी घाइते भए। टाउकोमा ५ टाँका लागेका प्रहरी निरीक्षक राईको पेस्तोलबाट ३ राउन्ड हवाई फायर भए पनि स्थिति साम्य हुन सकेन। लगत्तै स्पष्ट माथिल्लो आदेश र परिपक्व कमान्डबिनै सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो।

घटनापछि मात्रै कोशी प्रदेश प्रहरी गण र जिल्लाका विभिन्न वृत्तबाट ३७६ जना अतिरिक्त सुरक्षाकर्मी परिचालन गरी देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।

घट्नास्थल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले भीड नियन्त्रणका नाममा सुरक्षाकर्मीले सर्वसाधारणमाथि अत्यधिक र घातक बल प्रयोग गरेको गम्भीर आरोप लगाएका छन्।

Comment


Related News

Latest News

Trending News