अपडेट 
२०७७ जेष्ठ ३, शनिबार ०७:५५

वीरगञ्ज । पर्सा जिल्लाको अस्थायी कोरोना भाइरस अस्पताल नारायणी र सेमी आइसोलेशनबाट भाग्ने संक्रमितलाई सुरक्षाकर्मीले गोली समेत हान्ने आदेश दिएकोछ ।

नारायणी अस्पतालमा रहेको अस्थायी कोरोना अस्पतालबाट गत बुधवार दुई जना संक्रमित शौचालयबाट भागेका थिए । उनीहरुलाई सो ही राती प्रहरीले फरक फरक स्थानबाट पक्राउ गरेका थिए ।

नारायणी अस्पतालमा कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि स्थानाभाव भएपछि चिनी मिलमा रहेको सिद्धार्थ माविको क्वारेन्टाइनलाई सेमी आइसोलेशन बनाइएकोछ ।त्यहाँ १६ जनालाई राखिएकोछ ।७० जना नारायणी अस्पतालमा रहेका छन् ।

आइसोलेशनमा रहेका संक्रमितहरु मध्ये कुनै लक्षण नदेखिनेहरुलाई सेमी आइसोलेशनमा राखेर उपचार गरिने जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले संक्रमित व्यक्तिहरुलाई भाग्न नदिन सुरक्षा व्यवस्थालाई कडा बनाउने निर्णय गरेकोछ ।कोही भाग्ने प्रयास गरे सुरक्षाकमीले आवश्यक भए गोली चलाउन सक्ने अधिकार समेत सुरक्षाकर्मीलाई दिने निर्णय बैठकले गरेकोछ ।

‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने छ’ बैठकको निर्णयमा भनिएकोछ , आइसोलेशनमा रहेका संक्रमितहरु भाग्न खोजे नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’

‘अस्पतालबाट भाग्ने संक्रमितले समाजमा थप संक्रमण फैलाउन सक्ने उच्च जोखिम रहेकोछ‘ पर्सा जिल्लाकी एसपी गंगा पन्तले भनिन् , भाग्ने संक्रमितलाई पक्राउ गर्न सुरक्षाकर्मीले प्रयोग गर्ने बल अन्तरगत नै गोली प्रहर गर्नु हो ।‘संक्रमितलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीका लागि पनि सहज होइन्’उनले भनिन्, संक्रमितको नजिक प्रहरीपनि जान मिल्दैन् ।त्यसकारण भाग्न खोज्ने संक्रमितलाई नियन्त्रणमा लिन गोली प्रहार गर्न सकिने अधिकार दिइएको उनले बताइन् ।

बैठकले स्थानीय प्रशासन ऐनअनुसार ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्ति बढ्दै गएकोछ । संक्रमणको आशंका भएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको रुपमा पहिचान गरिएका होटलमा र अन्य सबै व्यक्तिलाई संकट व्यवस्थापन केन्द्रले तोकेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेकोछ ।

क्वारेन्टाइनको मापदण्डको सर्त पुरा गर्ने र सुरक्षाकर्मीको निगरानीमा रहने गरी आफ्नै खर्चमा होटेल, भवनमा सामुहिक रुपमा बस्न चाहनेका लागि बैठकले अनुमति दिएकोछ ।

जिल्लाका कयौं व्यवसायी, अधिकारीहरु कोरोना भाइरसको संक्रमित हुन सक्ने आशंका छ ।पत्रकार लगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाका महत्वपूर्ण मानिएका व्यक्तिहरुमा समेत सरेको हुन सक्ने आशंका गरिएकोछ ।

कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका लागि जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सम्बन्धित पालिकाको प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको छ ।

देशमै कोरोना भाइरस संक्रमितको संख्या सर्वाधिक पर्सा जिल्लामा रहेकोछ ।पर्सामा हाल सम्म ८२ जना संक्रमित पुष्टि भइसकेको र उनीहरुको उपचार भइरहेकोछ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी, पर्सा जिल्लाकी प्रहरी प्रमुख एसपी गंगा पन्त, सशस्त्र प्रहरीका एसपी दिवेन्द्र कुँवर, नारायणी अस्प्तालका डा. मदन उपाध्याय, नेपाली सेनाको चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक कुमार खड्काको सहभागिता थियो ।

Comment


Related News

Latest News

Trending News