सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठन गरिएको छानबिन समितिले स्थलगत अध्ययन सुरु गरेको छ ।
गत आइतबार राति दुई पक्षबीच उत्पन्न विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लाग्दा एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । घटनापछि स्थानीय क्षेत्रमा तनाव बढेपछि निष्पक्ष छानबिनको माग उठेको थियो ।
घटनाको वास्तविक अवस्था पहिचान गर्न गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिले सोमबार विराटनगर पुगेपछि घटनामा घाइते भएका व्यक्तिहरूसँग भेट गरी प्रारम्भिक जानकारी संकलन गरेको थियो ।
बुधबार बिहान समितिको टोली कप्तानगञ्ज पुगेर घटनास्थलको निरीक्षण गरेको छ । टोलीले घटनासँग सम्बन्धित भौतिक अवस्थाको अध्ययन गर्नुका साथै स्थानीय बासिन्दासँग छलफल गरी आवश्यक विवरण संकलन गरेको छ ।
समितिले घटनाको पृष्ठभूमि, सुरक्षा निकायको भूमिका तथा उत्पन्न परिस्थितिबारे अध्ययन गरी प्रतिवेदन तयार गर्ने बताइएको छ ।

