अपडेट 
२०७७ जेष्ठ ३, शनिबार ०८:१७

जनकपुरधाम । लकडाउनको उल्लंघन गर्दै धनुषाको शहीद नगरपालिकामा विद्यालय खोलेर बालबालिकाको भींड जम्मा पारेको पाइएको छ ।

कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको खिल्ली उडाउँदै जनप्रतिनिधी र शिक्षकले नै बालबालिकालाई भेला गराएका छन् धनुषाको शहीद नगरपालिकामा ।

यो वडामा रहेको आधारभूत विद्यालय डुमरियामा शुक्रबार बिहान झण्डै दुई सय जना बालबालिकाको जमघट फेला प¥यो । ‘विद्यालय त बन्द छ किन आएको ?’ जिज्ञासामा कक्षा ५ मा अध्ययनरत बालक सुरज रायले भने, “नयाँ पाठ्यपुस्तक लिनका लागि सरले बोलाउनुभएको छ ।”

भेला भएका बालबालिकाको बीचमा थिए शिक्षक पवन गोहितममान यादव । उनले पनि बालबालिकालाई नयाँ पाठ्यपुस्तक दिनकै लागि भेला पारिएको बताए । आफू प्रअ अशोक यादव र श्रोत व्यक्तिको आदेशमा पाठ्यपुस्तक बितरण गर्न आएको बताए ।

प्रअ अशोकले भने नगरपालिकाबाट पुस्तक बितरण गर्न दवाव आएकाले बितरण गरेको बताए । ‘नगरपालिकाले दवाव दियो, त्यसपछि हामीले लकडाउनकाबीच पनि पुस्तक बितरण गर्न बालबालिकालाई बोलाएका हौं’ उनले भने ।

शहीद नगरपालिकाको यो विद्यालय मात्र होइन् नगरपालिकाभरिका अधिकांस विद्यालय खोलेर शुक्रबार पाठ्यपुस्तक बितरण गरिएको छ । वडा नम्बर ८ कै आधारभूत विद्यालय नाथपट्टीमा त पुस्तक बितरण गर्न वडा अध्यक्ष तनुकलाल स्वयं पुगे । उनले आफ्नै हातबाट बालबालिकालाई पुस्तक बितरण गरे ।

वडा अध्यक्ष स्वयं पाठ्यपुस्तक बितरण गर्न गएको सन्दर्भमा कुरा गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन् ।

नगरपालिकाका कार्यकारी अधिकृत नन्द कुमार झा पाठ्यपुस्तक बितरण गर्न भनिएपनि भींड लगाउन नभनिएको बताए । उनले भींड लगाइएको बारे आफूलाई जानकारी नभएको बताए । ‘दूरी कायम गरेर घर–घरमा पुस्तक पठाउनका लागि विद्यालयमा पाठ्यपुस्तक पठाएका हौं’ झाले भने, “भींड भएको बिषयमा बुझ्छु ।”

Comment


Related News

Latest News

Trending News