२०८३ श्रावण १७, आईतवार ०५:५२

बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ स्थित आर्थिक क्षेत्र प्राधिकरण (सेज) मा ४५ करोडको लागतमा निर्मित भवन प्रयोगमा नआउंदा खण्डहरमा परिणत हुँदै गएको छ ।

सिमरा सेजको ब्लक ‘ए’ मा विभिन्न सेवामूलक कार्यालय सञ्चालन गर्ने उद्देश्यले बनेका भवन प्रयोगमा नआउँदा खण्डहरमा परिणत हुन थालेका हुन् । सिमरा सेजको ब्लक ‘ए’ मा उद्योगहरू धमाधम बनिरहेका छन् । तर सेजको उद्देश्य बमोजिमका सेवामूलक कार्यालय सञ्चालनमा सम्बन्धित क्षेत्रले चासो नदिएपछि भन्सार, बैंक, इन्स्योरेन्स, पोस्ट अफिस, पोलिक्लिनिक, डे–केयर लगायतका सेवा सञ्चालन गर्ने उद्देश्यले बनेका भवनहरू झाडीले छोप्न थालेका छन् ।

झ्याल ढोकाहरू फुट्न थालेका छन् भने रेलिङहरू भाँचिन थालेका छन् । विशेष क्षेत्र प्राधिकरणको सिमरा कार्यालयका अनुसार यहाँ बनेका सेवा भवन सञ्चालनका लागि प्राधिकरणले दुई वर्षअघि नै सूचना प्रकाशन गरेर प्रस्ताव आह्वान गरेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरूले सेवा सञ्चालनमा रुचि देखाएपनि उनीहरूको आवश्यकताभन्दा ठूला संरचना बनेकाले सम्झौता हुन नसकेको सिमरा सेजका फिल्ड प्रमुख अजय चौधरीले जानकारी दिए । ‘सेजले प्रस्ताव मागेपछि केही बैंकहरूले रुचि देखाएका थिए ।

बैंकबाट हेर्न पनि आउनु भयो, तर भवन ठूलो भयो भनेर फर्कनु भयो,’ चौधरीले भने । उद्देश्य अनुसारका सेवा क्षेत्र नआएपछि सेजले यहीँ सञ्चालनमा आएका तथा बन्दै गरेका उद्योगहरूको कार्यालय प्रयोजनका लागि समेत भवन भाडामा दिने नीति अघि सारेको छ । तर सेजमै चलिरहेका तथा बनिरहेका उद्योगहरूले समेत सेवा भवनमा कार्यालय राख्न चासो नदिएको सेजका फिल्ड प्रमुख चौधरीले बताए । ‘जुन सेवा क्षेत्रलाई आह्वान गरिएको थियो, उनीहरू नआएपछि यहीँका उद्योगको अफिस राख्नसमेत यी भवन दिने भनेका छौं ।

कोही आउनु भएको छैन,’ चौधरीले भने । सिमरा सेजको प्रशासनिक भवनसहित भन्सार, बैंक, इन्स्योरेन्स, पोस्ट अफिस, पोलिक्लिनिक, डे–केयर लगायतका सेवा सञ्चालन गर्ने उद्देश्यले बनेका कूल सात वटा भवन ४५ करोडको लागतमा बनेका थिए । प्रशासनिक भवन भने साउन अन्तिम साताबाट उपयोगमा ल्याउने गरी तयारी भइरहेको कार्यालयले जनाएको छ । सिमरा सेजको ब्लक ‘ए’ मा बन्ने २२ वटा उद्योगमध्ये हाल ६ वटाले उत्पादन गरिरहेका छन् ।

थप १० वटा उद्योग अन्तिम चरणमा निर्माणाधीन छन् भने थप ६ वटाले पूर्वाधार निर्माणको तयारी गरिरहेका छन् ।

Comment


Related News