राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
कांग्रेस, एमाले र नेकपा मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने पार्टीको धारणा रहेको उहाले बताउनुभयो । बैठकले प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई प्रदान गरेको छ । पार्टीको निर्देशन बिना सत्ता केन्द्रीत कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरुलाई निर्देशन गरिएको अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो ।
बैठकले आगामी मङ्सिर २६, २७, २८ गते काठमाडौँमा हुने महाधिवेशनको तयारीको सन्दर्भमा सोह्रवटा विभिन्न समितिहरू गठन गरेको अध्यक्ष लिङ्देनले बताउनुभयो ।
साथै निरञ्जन थापाको अध्यक्षतामा बनेको विधान मस्यौदा समितिमा केहि सदस्य थप गरिएको उहाको भनाइ छ ।
उहाले मधेस लगाएतका स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै नेपालमा समतामूलक समाज निर्माण गर्न र धार्मिक सहिष्णुताको निरन्तरता कायम राख्न हिन्दु राष्ट्र पुनःस्थापना हुन जरुरी रहेको बताउनुभयो ।

