गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभामा सांसदले सोधेको प्रश्नको जवाफ दिन्नँ भनेकोमा माफी मागेका छन् । गृहमन्त्रीको जवाफलाई लिएर सांसदहरूले आपत्ति जनाएपछि उनले माफी मागेका हुन् ।
कांग्रेस संसदीय दलकी नेता कमला पन्त प्रस्तावक रहेको विपद् व्यवस्थापनसम्बन्धी प्रस्तावमाथिको छलफलपछि जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले माफी मागेका हुन् ।
‘मेरोतर्फबाट माफी माग्न चाहन्छु । ठाडो पनि भयो, रुखो बोली भएको होला, क्षमा माग्न चाहन्छु । निर्मला पन्तको हत्यासम्बन्धमा अनुसन्धानको विषय सदनमार्फत सार्वजनिक गर्न मिल्दैन भनेर जवाफ नदिएको हुँ । रिजल्ट दिनु ठूलो कुरा हो, अनुसन्धान भइरहेको विषयबारे नबोलौँ भनेको हो, जवाफ दिन नखोजेको होइन,’ मन्त्री गुरुङले भने ।
सदनमार्फत जवाफ दिँदा उन्मुक्ति पाइरहेका अपराधीहरूलाई सचेत गराएको जस्तो हुने भएकाले अनुसन्धानको विषयलाई गोप्य राख्नुपर्ने उनले बताए । मन्त्री गुरुङले आफूले सिक्न बाँकी रहेको र सिक्दै जाने पनि बताए ।

