सरकारी अनुदानमा उपलब्ध हुने रासायनिक मल कालोबजारी गरी महँगो मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले सर्लाहीबाट तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सदरमुकाम मलंगवा नगरपालिका–१० स्थित कृष्ण जनरल स्टोरबाट अनाधिकृत रूपमा डिएपी मल बिक्री भइरहेको सूचनाका आधारमा गरिएको कारबाहीमा मलङ्गवा–७ निवासी २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन राय पक्राउ परेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले सरकारी अनुदानको डिएपी मल प्रतिवोरा तीन हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गर्दै आएको स्वीकार गरेका छन् । पसलमा गरिएको खानतलासीका क्रममा चार बोरा डिएपी मल र एक बोरा युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा पक्राउ परेका दुवैले उक्त मल मलंगवा नगरपालिका–४ शिवसागर चोकस्थित २८ वर्षीय राहुल गुप्ताले सञ्चालन गरेको पसलबाट प्रतिवोरा तीन हजार दुई सय रुपैयाँमा खरिद गरी नाफा राखेर बिक्री गर्ने गरेको बयान दिएका थिए ।
उक्त बयानका आधारमा प्रहरीले राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको छ । उनको पसलमा गरिएको खानतलासीबाट थप सात बोरा युरिया मल बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध कालोबजारी सम्बन्धी कसूर अन्तर्गत जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले सरकारी अनुदानमा उपलब्ध हुने कृषि सामग्रीको दुरुपयोग तथा कालोबजारी रोक्न निगरानीलाई थप कडाइ गरिने जनाएको छ ।

