इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले रणनीतिक महत्त्वको स्ट्रेट अफ हर्मुज पुन: खोल्नका लागि कडा सर्तहरू अघि सारेको छ। इरानले हर्मुज सुचारु गर्न अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले अमेरिकाका लागि ६ बुँदे सर्तहरू सार्वजनिक गरेका छन् । जुन यस्ता छन् :
- इरान र उसका “पवित्र मूल्यहरू” विरुद्धका धम्कीहरू अन्त्य गर्नुपर्ने।
- इरान र उसका क्षेत्रीय सहयोगीहरू विरुद्धको सैन्य कारबाही स्थायी रूपमा रोक्नुपर्ने।
- इरान विरुद्धको नाकाबन्दीमा संलग्न अमेरिकी नौसैनिक र हवाई सेना फिर्ता गर्नुपर्ने।
- हालैको द्वन्द्वमा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने।
- अमेरिकी प्रतिबन्धहरू हटाउनुपर्ने।
- इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्ने।
यसैबिच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकाले इरानको आणविक कार्यक्रम र परम्परागत सैन्य क्षमतालाई पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेका छन्। भान्सले भने, “हामीले उनीहरूको आणविक र सैन्य क्षमतालाई ध्वस्त पारेका छौँ। यदि इरानले दीर्घकालीन परिवर्तन गर्न चाहेन भने हामी दबाब कायमै राख्नेछौँ।” उनले अमेरिकाको लक्ष्य मध्यपूर्वबाट तेल र ग्यासको प्रवाह सुनिश्चित गरी अमेरिकीहरूका लागि ऊर्जाको मूल्य कम राख्नु रहेको पनि स्पष्ट पारे।
युद्धको बढ्दो तनावका बिच साउदी अरब, टर्की र पाकिस्तानले मक्कामा एक ‘संयुक्त रक्षा सम्झौता’ मा हस्ताक्षर गरेका छन्। टर्कीका विदेशमन्त्री हकान फिदानका अनुसार यो एक रक्षात्मक सम्झौता हो र भविष्यमा इजिप्ट पनि यसमा सहभागी हुन सक्ने सम्भावना छ। उनले यो सम्झौता कुनै निश्चित देश विरुद्ध लक्षित नरहेको दाबी गरे।
हर्मुज जलसन्धि बन्द रहे पनि ‘ट्याङ्कर ट्र्याकर्स’का अनुसार कम्तीमा ५६ वटा ट्याङ्करहरूले “डिजिटल अन्धकार”मा रहेर गोप्य रूपमा तेल ओसारपसार गरिरहेका छन्। यी ट्याङ्करहरूले अरब देशहरूको तेल निर्यातलाई निरन्तरता दिन खाडी क्षेत्रमा गोप्य रूपमा तेल स्थानान्तरण गरिरहेको बताइएको छ।
युद्ध लम्बिँदै जाँदा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले आफ्नो रणनीतिमा परिवर्तन गर्दै कम लागतका स्वायत्त हतियारहरूमा जोड दिन थालेको छ। पेन्टागनका अधिकारीहरूले मिडियामा आएका हतियार अभावका रिपोर्टहरूलाई अस्वीकार गर्दै अमेरिकाको सुरक्षा भण्डार पर्याप्त रहेको दाबी गरेका छन्।

