भारतको स्वतन्त्रता संग्राममा ऊर्जा, उत्साह र राष्ट्रभावना जगाउन महत्वपूर्ण भूमिका खेलेको प्रसिद्ध राष्ट्रिय गीत ‘वन्दे मातरम्’ रचना भएको १५० वर्ष पुगेको अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाएको छ ।
कार्यक्रममा वीरगंजका विभिन्न विद्यालयका विद्यार्थीहरूले ‘वन्दे मातरम्’ लगायत देशभक्तिपूर्ण गीत तथा नृत्य विभिन्न शैली र लयमा प्रस्तुत गरेका थिए । ज्ञानदा, डिएभी र सिद्धार्थलगायत विद्यालयका विद्यार्थीहरूको प्रस्तुति कार्यक्रममा विशेष आकर्षण बनेको थियो । विद्यार्थीहरूले गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिमार्फत राष्ट्रिय भावना तथा देशभक्तिको सन्देश दिएका थिए । कार्यक्रममा आर्या शर्मा तथा भोजपुरी गायक सुनील पण्डितले भावपूर्ण एकल गायन प्रस्तुत गरेका थिए ।
उनीहरूको प्रस्तुतिले कार्यक्रमलाई थप रोचक र संगीतमय बनाएको थियो । सहभागी दर्शकले कलाकार तथा विद्यार्थीहरूको प्रस्तुतिलाई उत्साहपूर्वक स्वागत गरेका थिए । कार्यक्रममा भारतीय महावाणिज्यदूत देवीसहाय मीणाले ‘वन्दे मातरम्’ को ऐतिहासिक महत्व र भारतको स्वतन्त्रता संग्राममा यसले खेलेको भूमिकाबारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण कन्सुल मनीष कुमारले गरेका थिए । प्रसिद्ध भारतीय लेखक तथा कवि बंकिमचन्द्र चटर्जीले रचना गरेको ‘वन्दे मातरम्’ पछि उनको चर्चित उपन्यास ‘आनन्दमठ’मा समावेश गरिएको थियो ।
उक्त गीतले तत्कालीन भारतमा राष्ट्रिय चेतना अभिवृद्धि गर्न तथा स्वतन्त्रता आन्दोलनमा जनमानसलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ । भारतमा सिपाही विद्रोह असफल भएपछि अंग्रेज शासनविरुद्धको संघर्षलाई व्यापक र प्रभावकारी बनाउन समाजका सबै वर्गको सहभागिता आवश्यक रहेको निष्कर्ष स्वतन्त्रता सङ्ग्रामका अगुवाहरूले निकालेका थिए । त्यसक्रममा साधु–सन्न्यासीसहित समाजका विभिन्न वर्ग आन्दोलनमा सहभागी भएका थिए ।
यही सन्न्यासी विद्रोहको पृष्ठभूमि र जनताको प्रतिरोधी चेतनालाई अभिव्यक्त गर्ने क्रममा ‘वन्दे मातरम्Úलाई ‘आनन्दमठ’मा समावेश गरिएको बताइन्छ । राष्ट्र, मातृभूमि र स्वतन्त्रताको भावनालाई सशक्त रूपमा अभिव्यक्त गर्ने भएकाले …वन्दे मातरम्Ú भारतको स्वतन्त्रता आन्दोलनको महत्वपूर्ण प्रतीकका रूपमा स्थापित भएको हो ।
वीरगंजमा आयोजित कार्यक्रमले गीतको ऐतिहासिक पृष्ठभूमिसँगै नेपाल– भारतबीचको सांस्कृतिक सम्बन्ध र साझा सामाजिक–सांस्कृतिक सम्पर्कलाई समेत उजागर गरेको आयोजकहरूको भनाइ थियो ।

