नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले राजनीतिक प्रतिशोधका आधारमा मुद्दाहरू हाल्ने प्रयास भएको बताउनुभएको छ ।
चुनदेवीस्थित कांग्रेस संस्थापन इतरको सम्पर्क कार्यालयमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध विगतदेखि नै राजनीतिक प्रतिशोधका आधारमा मुद्दाहरू हाल्ने र जेल पठाउने प्रयास भएको भन्दै अदालतले न्याय गरेको बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टसम्म मुद्दा लैजाने प्रयास भए पनि त्यसमा सत्यता नभएको र अदालतले आफूलाई सधैं निष्पक्ष न्याय दिएको उहाको भनाइ छ । नेपालको अदालत पञ्चायत कालदेखि नै निष्पक्ष न्याय दिने संस्थाको रूपमा स्थापित रहेको र आफूलाई अदालतको न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उहाको भनाइ छ । देउवाले सम्पत्ति शुद्धीकरणले समेत पटक–पटक छानबिन गर्दा पनि केही नभेटिएको र सफाइ दिएको धारणा राख्नुभयो ।
नेपालमा गणतन्त्र कसैको व्यक्तिगत प्रयासले नभई आफूले अघि बढाएको संविधानसभाको पहिलो बैठकले औपचारिक रूपमा घोषणा गरेर आएको उहाले बताउनुभयो ।

