नेपाली कांग्रेसले उपचार पश्चात् स्वदेश फिर्ता हुनुभएका पार्टीका निर्वतमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्दै निरन्तर स्वास्थ्य लाभको कामना गरेको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाको योगदानको उच्च मूल्याङ्कन गर्दै पार्टीको संस्थागत रूपान्तरण र सुदृढीकरणमा उहाँको अनुभव र अभिभावकीय भूमिका उपयोगी हुने विश्वास समेत व्यक्त गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले पत्रकार किशोर श्रेष्ठमाथि भएको धरपकड र गैरकानुनी गिरफ्तारीप्रति आपत्ति र निन्दा गरेको छ । कुनै दोष भएमा न्यायिक तथा कानुनी प्रक्रिया वा प्रेस काउन्सेलमार्फत निरूपण हुनुपर्नेमा, नागरिक स्वतन्त्रता कुण्ठित पार्ने र प्रेसको घाँटी निमोट्ने सत्ताको दमनकारी व्यवहार अस्वीकार्य रहेको बैठकको ठहर रहेको प्रवक्ता चालिसले बताउनुभयो ।
त्यस्तै बैठकले सार्वजनिक लेखा समितिमा सत्तारूढ दलका सांसदहरूबाट असंसदीय, अलोकतान्त्रिक र अशोभनीय भाषा/व्यवहार भएको भन्दै गम्भीर असहमति प्रकट गरेको छ । कांग्रेसका सबै सांसदहरूलाई संसद्मा आवेग वा उत्तेजनामा नआई, मर्यादित, शिष्ट र जिम्मेवार भएर लोकतन्त्रका उच्चतम मूल्य–मान्यता अनुकूल प्रस्तुत हुन निर्देशन दिइएको प्रवक्ता चालिसले जानकारी दिनुभयो ।
साथै बैठकले रोल्पामा भएको प्राकृतिक बिपद्मा नागरिकहरुको मृत्यु र बेपत्ता भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ताहरूको शीघ्र खोजी गर्न, पीडितलाई यथोचित बसोबास, राहत उपलब्ध गराउन माग गरेको छ । पार्टीका आन्तरिक बिषय लगाएतका एजेण्डामाथि शुक्रबार पनि निरन्तर छलफल हुने प्रवक्ता चालिसेले बताउनुभयो ।

