२०८३ श्रावण २९, शुक्रबार ०७:३९

मारवाडी सेवा समितिअन्तर्गत मारवाडी महिला मञ्चको आयोजनामा जनकपुरधाममा भव्य रूपमा सावन मेला सम्पन्न भएको छ ।

आयोजित मेलामा विभिन्न प्रकारका व्यापारिक तथा खानाका स्टल, बालबालिकाका लागि चित्रकला प्रतियोगिता, मनोरञ्जनात्मक खेललगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । मारवाडी महिला मञ्चकी अध्यक्ष शारदा अग्रवालले साउन महिनामा भएको मेलाले समाजमा नयाँपन ल्याउनुका साथै महिला सहभागिता र सिर्जनशीलतालाई समेत प्रोत्साहन गरेको जानकारी दिइन् । महिलाहरूको सक्रिय सहभागितामा आयोजित मेलामा समाजका विभिन्न व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको उनले बताइन् ।

मेलामा मारवाडी समाजको संस्कृति, परम्परा र दैनिक जीवनसँग जोडिएका विभिन्न सामग्रीका स्टलहरू राखिएका थिए । कपडा, गहना तथा लड्डु गोपालका पोशाकदेखि लड्डु गोपालको झुला, बन्दनवारलगायतका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएको थियो । यसले मारवाडी समाजमा प्रचलित सामग्री तथा परम्परागत संस्कृतिलाई मेलामार्फत प्रस्तुत गर्ने अवसरसमेत प्रदान गरेको महिला नेतृ रतु मुरारकाले बताइन् । त्यसैगरी, मेलामा बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले चित्रकला प्रतियोगितासमेत आयोजना गरिएको थियो।

प्रतियोगितामा ठूलो संख्यामा बालबालिकाले सहभागिता जनाएका थिए । बालबालिकाले उत्साहपूर्वक चित्र बनाएर आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेका थिए । उनले साउन मेला केवल मनोरञ्जन र किनमेलमा सीमित नभइ मारवाडी समाजलाई नयाँ ढंगले जोड्ने प्रयाससमेत भएको बताइन् । समाजमा महिलाको भूमिका र नेतृत्वलाई अझ सशक्त बनाउने उद्देश्यले महिला मञ्चले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको र सावन मेला त्यसैको एउटा महत्वपूर्ण प्रयास भएको अध्यक्ष अग्रवालले बताइन् ।

रतु मुरारकाले पनि साउन मेला महिला मञ्चको सक्रियता, एकता र व्यवस्थापन क्षमताको उदाहरण भएको बताइन् । उनले मेलाको तयारीदेखि स्टल व्यवस्थापन, बालबालिकाको प्रतियोगिता, खानाका परिकार तथा खेलकुदलगायतका गतिविधिमा महिला मञ्चका सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेको बताइन् । महिलाहरूले सामूहिक रूपमा जिम्मेवारी बाँडेर कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गरेका थिए ।

मारवाडी महिला मञ्चले महिलाहरू केवल घरपरिवारको जिम्मेवारीमा सीमित नभइ सामाजिक तथा सामुदायिक गतिविधिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने सन्देश सावन मेलामार्फत दिएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News