२०८३ श्रावण ३०, शनिबार ०७:४२

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी आरोपमा पक्राउ परेका धनुषाका एकै परिवारका तीन जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी भाइबुहारी ४८ वर्षीया रेखा कुमारी साह र रेखाका ३२ वर्षीय छोरा हरेराम साहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ती मुद्दामा आरोपित भनिएका बलराम साह भन्ने फरार रहेका छन् ।

जिल्ला अदालत धनुषाको इजलास नम्बर ११ मा न्यायाधीश हिरामाया अवालको एकल इजलासले बिहीबार साह परिवारविरुद्ध दायर भएका ६ वटा मुद्दामध्ये वादी गोविन्द साहले दायर गरेको मुद्दामा तीनै जनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । जिल्ला अदालत धनुषाका श्रेस्तेदार दीपक पोखरेलका अनुसार बाँकी पाँचवटा मुद्दामा प्रतिवादीलाई जनही एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

मिटरब्याजसम्बन्धी उजुरीका आधारमा प्रहरीले साह परिवारका सदस्यलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान पूरा भएपछि उनीहरूलाई अदालतमा उपस्थित गराइएकोमा अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतको आदेशमा वादी गोविन्द साहको जाहेरी, जाहेरवालासहित रामरतन पासमान, रामऔतार साह र रोहितकुमार साहले दिएको घटना विवरण, प्रतिवादीहरूले बयानका क्रममा जाहेरवालालाई रकम दिन तथा दिलाउने कार्य स्वीकार गरेको विवरणलगायतका प्रमाणलाई आधार बनाइएको उल्लेख छ ।

त्यस्तै, कि.नं. ७१३ को जग्गा प्रतिवादी रेखा कुमारी साहको नाममा दर्ता कायम रहे पनि हालसम्म जाहेरवाला रेणु साहकै हकभोगमा रहेको भन्ने सर्जमिन मुचुल्का तथा जनकपुरधाम उपमहानगरपालिका–१६ नम्बर वडा कार्यालयको पत्रलाई समेत अदालतले प्रमाणका रूपमा लिएको छ । अडियो क्लिपमा भएको कुराकानी वास्तविक रहेको प्रतिवादीहरूले समेत स्वीकार गरेको र मिसिल संलग्न तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरूलाई अहिले नै निर्दोष भन्न सकिने अवस्था नरहेको अदालतको आदेशमा उल्लेख छ ।

अदालतले थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम तीनै जनालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतको आदेशपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी गोपाल साह र हरेराम साहलाई जलेश्वर कारागार पठाइएको छ ।

जलेश्वर कारागारमा महिला बन्दी राख्ने व्यवस्था नभएकाले रेखा कुमारी साहलाई सिन्धुली कारागार पठाइएको श्रेस्तेदार पोखरेलले जानकारी दिए । मुद्दाको अन्तिम फैसला भने हुन बाँकी छ । साह परिवारविरुद्ध बहरु राउतले गोपाल साह, रामरती देवी, रामझरी देवी लाई प्रतिवादी बनाई रिट दायर गरेका थिए भने भने गोविन्द साहले हरेराम साह, रेखा साह, गोपाल साह, बलराम साहविरुद्ध रिट दायर गरेका थिए ।

यस्तै मो. कासिमको रिटमा रेखा साह र हरेराम, निलम कुमारीको रिटमा पनि रेखा साह र हरेराम, मो. युसुफ राईन र राजीवकुमार सिंह दनुवारको को रिटमा गोपाल साहलाई प्रतिवादी बनाइएको थियो । फरार भनिएका बलराम साह रेखा साहका श्रीमान हुन ।

Comment


Related News

Latest News

Trending News