२०८३ श्रावण ३०, शनिबार १७:११

भारतको महावाणिज्य दूतावास, वीरगंजले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित उत्साह र देशभक्तिपूर्ण भावनाका साथ मनाएको छ। समारोहमा भारतीय समुदायका सदस्य, भारतका मित्र तथा वीरगंज क्षेत्रका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात ‘वन्दे मातरम्’को प्रस्तुतिबाट भएको थियो। त्यसपछि भारतका लागि वीरगंजका महावाणिज्यदूत देवी सहाय मीनाले राष्ट्रिय झण्डा फहराउनुभयो। झण्डोत्तोलनपछि सहभागीहरूले सामूहिक रूपमा राष्ट्रिय गान गाएका थिए। सो अवसरमा महावाणिज्यदूत मीनाले भारतका राष्ट्रपतिको स्वतन्त्रता दिवससम्बन्धी सम्बोधन उपस्थित जनसमुदायसमक्ष वाचन गर्नुभयो।

समारोहको प्रमुख आकर्षण वीरगंजका विभिन्न विद्यालयका विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकाले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम बने। देशभक्तिपूर्ण गीत, नृत्य र नाटकमार्फत भारतको सांस्कृतिक विविधता, एकता र देशप्रेम झल्काइएको थियो। प्रस्तुतिले उपस्थित दर्शकबाट उत्साहजनक प्रशंसा पाएको थियो।

कार्यक्रममा पर्सा र बारा जिल्लाका वरिष्ठ प्रशासनिक तथा प्रहरी अधिकारीका साथै वीरगंज उद्योग वाणिज्य संघ (BiCCI), NIFA, NYEF, NiCCI, पतञ्जलीलगायत विभिन्न संघसंस्था तथा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो। उनीहरूको उपस्थितिले भारत र नेपालबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहकार्यलाई थप उजागर गरेको दूतावासले जनाएको छ।

महावाणिज्यदूत मीनाले उत्कृष्ट सांस्कृतिक प्रस्तुति दिने विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकालाई प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो। साथै भारत सरकारको विदेश मन्त्रालयद्वारा आयोजित ‘भारत को जानिए’ प्रश्नोत्तरीका विजेतालाई पुरस्कार तथा विभिन्न विद्यालयसँगको सहकार्यमा दूतावासले आयोजना गरेको चित्रकला प्रतियोगिताका विजेतालाई प्रशंसापत्र प्रदान गरिएको थियो।

Comment


Related News

Latest News

Trending News