सिरहाको लहानस्थित अस्पतालमा तत्कालै ट्रमा युनिट सञ्चालनमा ल्याइने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएकी छिन् ।
लहानमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), भवन निर्माण तथा विशेषज्ञ जनशक्ति व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ट्रमा युनिट सञ्चालन गर्न लागिएको जानकारी दिइन् । उनका अनुसार मधेश प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सक अस्पतालहरूमा पठाइसकेको छ ।
लहान अस्पतालमा सिटी स्क्यान मेसिन उपलब्ध भए पनि रेडियोलोजिस्टको अभावमा सेवा प्रभावित हुँदै आएको भन्दै उनले अर्थोपेडिक सर्जन, एनेस्थेसिया विज्ञलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरेर ट्रमा सेवा सुरु गरिने बताइन् । ‘ट्रमा सेन्टर निर्माण दीर्घकालीन प्रक्रिया हो । यसका लागि बहुविशेषज्ञ चिकित्सकसहित आवश्यक पूर्वाधार चाहिन्छ,’ मन्त्री मेहताले भनिन्, ‘लहान राजमार्गसँग जोडिएको महत्वपूर्ण स्थान भएकाले यहाँ तत्काल ट्रमा युनिट सञ्चालन गर्न सकिन्छ । अस्पतालमा सिटी स्क्यान, ब्लड बैंक र आँखा अस्पतालजस्ता पूर्वाधारसमेत उपलब्ध छन् ।’ स्वास्थ्य क्षेत्रको बक्यौताबारे उनले विगतमा रहेको करिब १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको दाबी गरिन् । स्वास्थ्य बीमाका केही प्याकेज अव्यावहारिक देखिएकाले त्यसको पुनरवलोकन भइरहेको उनको भनाइ थियो ।
मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको स्पष्ट पार्दै निजी अस्पतालमा मात्रै बीमा सेवा रोकिएको र सरकारी अस्पतालमा सेवा यथावत् रहेको बताइन् । करिब ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमा निर्भर रहेको उल्लेख गर्दै उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सरकारले आवश्यक सुधार अघि बढाइरहेको जानकारी दिइन् ।
यसैबीच, तराईमा देखिएको …एन्टी स्नेक भेनमÚको अभावबारे पनि मन्त्री मेहताले औषधि आपूर्तिको व्यवस्था गरिएको बताइन् । उनका अनुसार काठमाडौंमा ८ हजार ५ सय भायल एन्टी स्नेक भेनम आइपुगेको छ भने आइतबारदेखि देशका विभिन्न भागमा वितरण सुरु हुनेछ । केही अस्पताल तथा सैनिक क्याम्पमा मौज्दात घटेको भए पनि देशभर पूर्ण अभाव हुन नदिने गरी आपूर्ति व्यवस्थापन भइरहेको मन्त्री मेहताले जानकारी दिइन् ।

