नेपाली कांग्रेसका पुर्वसभापति शेरबहादुर देउवाले आफू न्यायालयप्रति पूर्ण विश्वस्त रहेको बताउनुभएको छ ।
शुक्रबारबाट सुरु भएको कांग्रेस इतर पक्षको राष्ट्रिय भेलाको समापन समारोहलाइ सम्बोधन गर्दे पुर्वसभापति देउवाले पञ्चायतकालदेखि नै अदालतले आफूलाई न्याय दिएको स्मरण गर्दै पछिल्लो राजनीतिक विवादमा पनि अदालतको निर्णय स्वीकार गर्ने बताउनुभयो । उहाँले पार्टीको विशेष महाधिवेशनसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले पूर्ण फैसला नआएसम्म आफूले यस विषयमा थप टिप्पणी नगर्ने बताउनुभयो । पुर्वसभापति देउवाले आफूले विशेष महाधिवेशन सर्वसम्मतिबाट गर्नुपर्ने धारणा राख्दै आएको तर त्यसविपरीत महाधिवेशन गरिएपछि त्यसविरुद्ध अदालत गएको स्पष्ट पार्नुभयो । उहाँले धर्मसम्बन्धी विषयमा आफू व्यक्तिगत रूपमा हिन्दु भएको स्पष्ट पार्दै आफूलाई हिन्दु हुनबाट कसैले रोक्न नसक्ने बताउनुभयो ।
पुर्वसभापति देउवाले नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्ने धारणा राख्दै नेपाल हिन्दु राष्ट्र हुने वा नहुने विषय नेपाली जनताको निर्णयमा निर्भर रहने उल्लेख गर्नुभयो ।उहाँले हिन्दु धर्मसँगै बुद्ध धर्म तथा विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक परम्पराको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

