२०८३ भाद्र १, सोमबार ०६:२९

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानमा रहेको धर्मनिर्पेक्षताको बर्खिलापमा सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलनको समापनको अवसरमा निवर्तमान सभापति देउवाले नेपालमा हरेक व्यक्तिलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता हुनुपर्ने भन्दै सनातन धर्म, हिन्दू संस्कार र धार्मिक सहिष्णुताको संरक्षणमा जोड दिए । ‘बुद्ध धर्मप्रति पनि मेरो उत्तिकै श्रद्धा छ ।

अन्य धर्मावलम्बी र प्राकृतिक धर्म मान्ने सबैप्रति मेरो सम्मान छ,’ देउवाले भने । देउवाको धार्मिक स्वतन्त्रतासम्बन्धी अभिव्यक्ति सम्मेलनले पारित गरेको पाँचबुँदे निष्कर्षसंग समेत जोडिएको छ । सम्मेलनले नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । सम्मेलनको तेस्रो बुँदामा नेपालको सनातन धर्म–संस्कृति राष्ट्रिय पहिचान भएको उल्लेख गर्दै नेपालमा रहँदै आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

हिन्दू, बौद्ध, किरात तथा प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता पनि सम्मेलनले गरेको छ । समापन समारोहमा देउवाले आफूलाई विगतदेखि नै नेपालको न्यायालयले न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताए । पञ्चायतकालदेखि नै आफू र नेपाली कांग्रेसलाई न्यायालयले न्याय दिएको उनको भनाइ थियो ।

आफूलाई तत्कालीन राजाले थुनामा राख्दा समेत सर्वोच्च अदालतले शाही आयोग खारेज गरेको स्मरण गर्दै देउवाले अहिले पनि कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले न्याय पाउने अपेक्षा रहेको दोहो¥याए । कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई वैधानिकता नदिइ त्यसविरुद्ध कानुनी चुनौती दिँदै आएको छ । विशेष महाधिवेशनबाट तत्कालीन महामन्त्री गगनकुमार थापा सभापतिमा चयन भइ नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो ।

विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले उक्त महाधिवेशन अवैध भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो । आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले आयोगको निर्णयलाई नै मान्यता दिएको थियो । त्यसपछि असन्तुष्ट पक्षले आधिकारिकतासम्बन्धी निर्णय पुनरावलोकनको माग गर्दै दिएको निवेदनमाथि सर्वोच्च अदालतको पूर्ण इजलासले यही साउन २१ गते निस्सा दिएको छ ।

यसले कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवादलाई पुनः न्यायिक प्रक्रियामा ल्याएको छ । देउवाले विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो कदम नचाल्न आग्रह गरेको स्मरणसमेत गरे । तीनदिने राष्ट्रिय सम्मेलनले नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा सम्पन्न गर्ने निष्कर्ष निकालेको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ गतेदेखि काठमाण्डुमा आयोजना गरिएको सम्मेलनमा पार्टीको आगामी महाधिवेशन, राष्ट्रिय राजनीति, संविधान संशोधन, धर्म–संस्कृति तथा संगठनात्मक विषयमा छलफल भएको थियो ।

सम्मेलनको पहिलो निष्कर्षमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ । सम्मेलनमा शनिबार विभिन्न पाँच प्रस्ताव प्रस्तुत भएका थिए । विमलेन्द्र निधिले राजनीतिक, डा. प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले संगठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । सबै प्रस्तावमाथि प्रदेशगत रूपमा छलफल गरी प्रदेशगत धारणा तथा प्रस्तुति लिइएको थियो । सम्मेलनका प्रचार–प्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार छलफलपछि प्राप्त सुझावलाई समेटेर सम्मेलनका प्रस्ताव परिमार्जनसहित पारित गरिएको छ ।

सम्मेलनले विभिन्न प्रस्ताव तथा छलफलबाट आएका सुझावलाई समेटी परिमार्जनसहित पारित प्रस्तावलाई अन्तिम लिखित दस्तावेजका रूपमा तयार गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिएको छ । समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना सदस्य तथा मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगी रहेका छन् । स्वास्थ्य उपचारका लागि विदेश गएका देउवा करिब पाँच महिनापछि बिहीबार मात्रै स्वदेश फर्किएका थिए । समापन समारोहमा उनले पार्टीका नेता तथा कार्यकर्ताबाट प्राप्त ठूलो साथ, सद्भाव र समर्थनलाई आफूले कहिल्यै नबिर्सने बताए ।

पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको संयोजक डा. कोइरालाले प्रस्ट्याए ।

Comment


Related News

Latest News

Trending News