मधेश प्रदेश सरकारले जनकपुरधामस्थित ‘रामजानकी बहुउद्देश्यीय रंगशाला’ निर्माणका लागि आवश्यक बजेट भारत सरकारसँग माग गर्न नेपाल सरकारलाई पुनः आग्रह गर्दै ताकेता गरेका छन् ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्ताव प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि भारत सरकारसँग बजेट सहयोगका लागि नेपाल सरकारमार्फत पहल गर्न आग्रह गरिएको हो । मन्त्रालयले तयार पारेको प्रस्तावमा मधेश प्रदेशको राजधानीमा राष्ट्रियस्तरको समेत कुनै रंगशाला नरहेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न तथा खेलकुद क्षेत्रको विकास र समृद्धिका लागि रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माण आवश्यक रहेको उल्लेख गरिएको छ ।
तत्कालीन नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको च.नं. १३१३, मिति २०७५ पुस ३० को पत्रमार्फत भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा औपचारिक तथा अनौपचारिक द्विपक्षीय सहयोग सम्बन्धी छलफल भएको र नेपाली खेलकुद जगतलाई भारतीय सहयोग तथा मायाको चिनोका रूपमा रामजानकी रंगशाला निर्माणमा सहयोग गर्न अनुरोध गरिएको विषय परराष्ट्र मन्त्रालयमा समेत पठाइएको प्रस्तावमा भनिएको छ ।
त्यसपछि भारतका प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका क्रममा जनकपुरधामको विकासका लागि रु. १०० करोड सहयोग घोषणा भएको गरिएको थियो । उक्त घोषणापछि मधेश प्रदेश सरकारले मिति २०८० भदौ १० को मन्त्रिस्तरीय निर्णयबाट श्री रामजानकी बहुउद्देश्यीय रंगशालालाई प्रदेशको गौरवको कार्यक्रमका रूपमा अघि बढाउने निर्णय गरेको थियो । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र वार्षिक बजेटमा समेत रंगशाला निर्माणको योजना समावेश गरेको छ ।
प्रस्ताव अनुसार रंगशालाको मास्टर प्लान तथा प्रारूप डिजाइन तयार पारिएको छ भने यसको कुल अनुमानित लागत करिब रु. ९ अर्ब २५ करोड रहेको उल्लेख गरिएको छ । प्रदेश सरकारसँग पर्याप्त स्रोत अभाव रहेकाले रंगशालाको पहिलो चरणको निर्माण कार्य भारत सरकारको सहयोगमा अघि बढाउनुपर्ने प्रस्तावमा जोड दिदैँ पहिलो चरणमा क्रिकेट स्टेडियम, फुटबल, कबड्डी हल तथा टेबल टेनिस कोर्ट लगायतका पूर्वाधार निर्माण गर्ने योजना छ । पहिलो चरणको उक्त कार्यका लागि अनुमानित लागत रु. २ अर्ब ७५ करोड २५ लाख ८६ हजार ३ सय ३६ रुपैयाँ ९५ पैसा भारत सरकारसँग माग गर्न नेपाल सरकारलाई पुनः अनुरोध गर्ने निर्णय मधेश प्रदेश सरकारले गएको साउन १९ गते गरेको हो ।
रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि भारत सरकारसँग बजेट माग गर्ने विषयमा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय र अर्थ मन्त्रालयबाट समेत आवश्यक परामर्श लिइएको प्रस्तावमा उल्लेख छ । मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न ती दुवै मन्त्रालयबाट सहमति प्राप्त भइसकेको प्रस्ताव पत्रमा भनिएको छ । प्रदेश सरकारसँग स्रोत अभाव रहेका कारण स्रोत व्यवस्थापनका लागि नेपाल सरकारसँग बजेट सहायता माग गर्नुपर्ने देखिएपछि भौतिक पूर्वाधार विकास मन्त्रालयले मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गरेको हो ।
मन्त्रालयका मन्त्रीबाट विभागीय स्वीकृति प्राप्त भएपछि प्रदेश सरकार -कार्यसम्पादन) नियमावली, २०८० को अनुसूची–१ अन्तर्गतको सम्बन्धित व्यवस्थाबमोजिम प्रस्ताव तयार गरिएको उल्लेख छ । भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्रिपरिषदबाट पारित भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत सोही दिन नेपाल सरकारका प्रधानमन्त्री कार्यालयलाई प्रस्ताव पारित निर्णय सहित पठाई सकिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता प्रवीण प्रताप अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार गत वर्षपनि प्रदेश सरकारले नेपाल सरकारलाई प्रस्ताव पारित गर्दै सहयोगका लागि आग्रह गरेका थिए । तर कुनै चासो लिइएन । प्रदेश बजेट अपुग प्रवक्ता अधिकारीले भने पहिलो चरणमै झण्डै तीन अर्बको लागत रहेको छ । यति ठूलो रकम प्रदेश सरकारको हैसियत बाहिर रहेको छ, अन्य सहयोग नेपाल सरकारकै पहलबाट हुने भएकाले विगतमा भारतीय प्रधानमन्त्रीले जनकपुरधामलाई सहयोग गर्ने प्रतिबद्धता अनुसार सहयोगका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका हौं । उनले भने गत वर्ष झै यसवर्ष पनि प्रदेश सरकारले एक करोड रुपैया बजेट छुटयाएको छ । तर त्यो ऊँटको मुखमा जीराको फोरन झै हुने भएकाले बाह्य सहयोग अपरिहार्य छ ।
प्रदेश सरकारले छुटयाएको एक करोड रुपैयबाट त गुठी संस्थानलाई लीज वापत नै वर्षेणी २५ लाख रुपैया तिर्नु परिरहेको छ ।

