वर्षा, बाढी र अत्यधिक गर्मी बढेसंगै मधेश प्रदेशलगायतका क्षेत्रमा सर्पदंशका घटना बढ्न थालेका छन् । खेतबारीमा काम गर्ने किसानदेखि घरको छतमा निस्कने बालबालिकासम्म सर्पदंशको जोखिममा परेका छन् ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पछिल्ला दिनमा सर्पले डसेका बिरामीको चाप बढ्दै गएको छ । अस्पतालका अनुसार दैनिक नौ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । आइतबार छिन्नमस्ता गाउँपालिका–३ सखडाकी ४५ वर्षीया पवित्रीदेवी शर्मा धानखेत गोड्दै गर्दा बिहान करिब ११ बजे सर्पको डसाइमा परिन् ।
खेतमा उनीसँगै रहेका व्यक्तिले तत्काल गुहार गरेपछि ई–रिक्सा बोलाएर उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको थियो । यसैगरी शनिबार साँझ राजविराज नगरपालिका– ९ विहारपुरका १५ वर्षीय विष्णुकुमार मण्डल घरअगाडि हिँडिरहेका बेला सर्पले डस्यो। सर्पले डसेको थाहा पाउनेबित्तिकै उनलाई अस्पताल ल्याएर उपचार शुरु गरिएको थियो ।
सोही राति राजविराज नगरपालिका–१५ देउरी भरुवाकी १६ वर्षीया संगिताकुमारी यादव पनि सर्पदंशमा परिन्। मामाघर विष्णुपुर गाउँपालिका–१ पर्साही पुगेकी उनी अत्यधिक गर्मीका कारण राति छतमा जान खोज्दै थिइन्। भ¥याङबाट छतमा पुग्नुअघि नै उनलाई सर्पले डसेको थियो। राति करिब ८ बजे उनलाई अस्पताल पु¥याइएको थियो ।
अस्पतालको आकस्मिक कक्षमा अन्य रोगका बिरामीको समेत चाप रहेका कारण तीनै जनालाई भुइँमै राखेर उपचार गर्नुपरेको थियो । यसले सर्पदंशको जोखिमसँगै उपचारका लागि आवश्यक पूर्वाधार र जनशक्तिमाथिको दबाबसमेत देखाएको छ । गजेन्द्रनारायण सिंह अस्पतालका सूचना अधिकारी दिपेन्द्रकुमार यादवका अनुसार सर्पदंशका बिरामीको संख्या पछिल्लो समय निरन्तर बढिरहेको छ । उनका अनुसार साउनमा मात्रै ८७ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आएका छन् । त्यसअघि वैशाख, जेठ र असारमा गरी ७६ जना सर्पदंशका बिरामी उपचारका लागि आएको अस्पतालको तथ्यांक छ ।
वर्षा, बाढी र गर्मीका कारण जमिन तथा घरका दुलो–कुना र झाडीमा रहेका सर्प बाहिर निस्कने भएकाले मनसुनको समयमा सर्पदंशका घटना बढ्ने गरेको यादव बताउँछन् । अस्पतालका जिन्सी फाँट प्रमुख नायब सुब्बा रेमन्तकुमार यादवका अनुसार केही समयअघि अस्पतालमा १४० भाइल एन्टिस्नेक भेनम रहेकोमा गत बुधबार सिरहाको रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताललाई ३० भाइल हस्तान्तरण गरिएको थियो । त्यसपछि अस्पतालसँग करिब १०० भाइल भेनम बाँकी रहेको उनले बताए । सर्पदंशको जोखिम बढिरहँदा मधेशसहितको धनुषा, सर्लाही, महोत्तरी, सप्तरीलगायतका जिल्लामा मृत्युका घटनासमेत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार साउनमा मात्रै सर्पदंशका कारण तीन जनाको मृत्यु भइसकेको छ । साउन १९, २४ र २६ गते एक–एक जनाको सर्पदंशबाट मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए । सर्पदंशलाई सामान्य घटना ठान्दा पनि जोखिम बढ्ने चिकित्सकहरूको भनाइ छ । नेपाल सरकारको सर्पदंश उपचारसम्बन्धी राष्ट्रिय निर्देशिकाले पनि विषालु सर्पको विष शरीरमा फैलिएपछि एन्टिभेनम नै विशिष्ट उपचार हुने उल्लेख गरेको छ।
नेपालमा प्रयोग हुने एन्टिभेनम सीमित र महँगो भएकाले चिकित्सकीय आवश्यकता अनुसार प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार नेपालभर ९ हजार १२० सर्पदंशका घटना अभिलेख भएका थिए । तीमध्ये मधेश प्रदेशमा मात्रै १ हजार ३६६ घटना दर्ता भएका छन् । सो वर्ष कोशीमा २ हजार ९८३, लुम्बिनीमा २ हजार ४०७ र गण्डकीमा १ हजार ४५६ सर्पदंशका घटना दर्ता भएका थिए ।
यसअघि आर्थिक वर्ष २०७९/८० मा पनि मधेशमा १ हजार ४६० सर्पदंशका घटना अभिलेख भएका थिए। त्यस वर्ष देशभर ९ हजार १२० घटना दर्ता भएका थिए । नेपालको स्वास्थ्य सेवा विभागअन्तर्गतको महामारी तथा रोग नियन्त्रणसम्बन्धी निकायले पनि सर्पदंशलाई महत्वपूर्ण चिकित्सकीय आपत्कालका रूपमा लिएको छ ।
विशेषगरी किसान, खेतीपाती तथा वृक्षरोपणमा संलग्न श्रमिक र बालबालिका बढी जोखिममा पर्ने उल्लेख गरिएको छ । सर्पदंशको जोखिमलाई ध्यानमा राख्दै संघीय सरकारले पछिल्ला वर्षमा एन्टिस्नेक भेनमको आपूर्ति बढाउने प्रयास गर्दै आएको छ । २०८२ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा एन्टिस्नेक भेनम पठाएको थियो । त्यतिबेला मधेश प्रदेशमा सर्पदंशका घटना बढी हुने भन्दै अन्य प्रदेशको तुलनामा बढी अर्थात् २ हजार ५०० भाइल एन्टिभेनम पठाइएको मन्त्रालयको विवरण सार्वजनिक भएको थियो ।
मन्त्रालयले आगामी महिनामा आपूर्ति थप बढाउने तयारीसमेत जनाएको थियो । स्वास्थ्य सेवा विभागको हालको वेबसाइटमा पनि एन्टिस्नेक भेनम सिरम खरि दसम्बन्धी सूचनासमेत प्रकाशित भएको देखिन्छ । यसले सरकार नियमित खरिद र आपूर्तिको प्रक्रियामा रहेको देखाए पनि अस्पताल तहमा पर्याप्त मौज्दात र समयमै वितरण सुनिश्चित हुनु मुख्य चुनौती बनेको छ ।
यता मधेश प्रदेश सरकारले पनि सर्पदंश उपचारलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा तराई–मधेशमा प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको सर्पदंशको उपचार सर्वसुलभ बनाउन आधार भूत स्वास्थ्य केन्द्रमा एन्टिस्नेक भेनमसहित सर्पदंश उपचार केन्द्र विस्तार गर्ने योजना अघि सारेको छ ।

