उच्च अदालत पाटनले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश अच्युत कुइँकेलको इजलासले श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो।
‘मिति २०८३।०४।२७ मा प्रकाशित समाचारका विषयमा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राखे लगायतका कार्य नगर्नू, नगराउनू भनी विपक्षी नं. २ का नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम प्रत्यर्थीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ,’ अदालतले जारी गरेको आदेशमा भनिएको छ।
गत साउन २७ गते जनआस्थाले उपसभामुख रूबिकुमारी ठाकुरको समाचार प्रकाशन गरेको थियो। त्यसविरूद्धको समाचारको कारबाही प्रक्रिया प्रेस काउन्सिलमार्फत् भइरहेको र सर्वोच्च अदालतले जारी गरेको परमादेश समेतलाई आधार मानेर उच्चले पक्राउ नगर्न आदेश दिएको हो।

