राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले छठ पर्व सकिएपछि मधेशमा रास्वपाका सांसदलाई जनताको पिटाइ खाने दिन आउने चेतावनी दिएका छन् ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बुधबार बोलाइएको पार्टी, सांसद र मन्त्रीहरूको छलफलका क्रममा रास्वपाका सांसदहरुलाई सचेतसमेत गराए । सीमानाकामा कडाइले मधेशीहरूको दैनिक जीवनयापन गाह्रो हुँदै गएकोले अब झन् झन् समस्या आउन सक्ने उनको भनाइ छ ।
सीमापारीबाट सामान ल्याउन एक सय रुपैयाँसम्मलाई भन्सार महसुल छुट दिइए पनि त्योभन्दा बढीको सामान खरिद गर्नेहरूसंग भन्सार शुल्क लिन थालेको थियो । सरकारले सो व्यवस्थालाई कडाइ साथ लागु गरेपछि मधेशमा विरोध भएको थियो । सर्वोच्च अदालतमा यस सम्बन्धी रिट दायर भएपछि नागरिकलाई सम्मानजनक व्यवहार गर्न अन्तरिम आदेश जारी गरेको थियो ।
सो शुल्कले अप्ठ्यारो परेको भनेर व्यापक विरोध भएपछि सरकारले अहिले यसमा केही खुकुलो बनाएको छ । स्रोतले बैठकमा सांसद सिंहको भनाइ उद्धृत गर्दै भने, ‘ मलाई एक हप्ता दिनुहोस् म सरकारका १ सय गल्ती निकालिदिन्छु, मधेशमा त छठ पर्व सकिएपछि रास्वपाका सांसदले पिटाइ खाने दिन आउँदैछन् ।’

