रौतहटको बौधिमाई नगरपालिका–८ सरमुजवामा सुरक्षाकर्मीले मध्यराति घरमा प्रवेश गरी सशस्त्र प्रहरी माथी आक्रमण गर्ने दुईजना लाई पक्राउ गरेको छ।
छापामारको क्रममा प्रहरीले परिवारका अन्य सदस्यलाई कुटपिट गरेको आरोप लागेको छ।घटनामा ७० वर्षीया बसकलिया देवी र उनकी १६ वर्षीया नातिनी करिश्मा यादव घाइते भएकी छिन् ।
घटना तस्करीको सामान बोकेको मोटरसाइकल नियन्त्रणमा लिने क्रममा भएको विवादसँग जोडिएको छ। भारतको घोडासहनबाट तस्करीको सामान बोकेर नेपालतर्फ आउँदै गरेको मोटरसाइकल नियन्त्रणमा लिने क्रममा सोमबार विवाद भएको र तस्कर समूह तथा केही स्थानीयले सशस्त्र प्रहरीमाथि ढुंगामुढा तथा आक्रमण गरेको बुझिएको छ।
उक्त आक्रमणमा सशस्त्र प्रहरी बल, बीओपी सरमुजवामा कार्यरत इन्स्पेक्टर लोकेन्द्र पुलामी मगरको हातको औँला भाँचिएको तथा अर्का एक सुरक्षाकर्मीसमेत घाइते भएको बताइएको छ।
इन्स्पेक्टर पुलामीले दिएको जाहेरीका आधारमा घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। सोही क्रममा शिवपुजन यादव र नवलकिशोर यादवलाई राति घरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।
तर, पक्राउ परेका दुवै दाजुभाइ उक्त घटनामा संलग्न नरहेको परिवारको दाबी छ। परिवारका अनुसार उनीहरूमध्ये एकजना सवारी चालक र अर्का खेती–किसानी गर्ने व्यक्ति हुन्। उनीहरू तस्करीमा संलग्न नरहेको परिवारको दाबी छ।
परिवारका अनुसार मंगलबार मध्यराति करिब १२ बजेको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली शिवपुजन र नवलकिशोरलाई पक्राउ गर्न घर पुगेको थियो। सुरक्षाकर्मीले मुख्य ढोका फुटाएर घरभित्र प्रवेश गरी दुवैलाई नियन्त्रणमा लिएको र त्यस क्रममा परिवारका सदस्यलाई समेत कुटपिट गरेको आरोप लगाइएको छ।
शिवपुजनकी आमा बसकलिया देवी, श्रीमती सुगान्धी देवी र १६ वर्षीया छोरी करिश्मामाथि सुरक्षाकर्मीले कुटपिट गरेको परिवारको आरोप छ। बसकलिया र करिश्माको टाउकोमा भाटाले प्रहार गरिएको र उनीहरू गम्भीर घाइते भएको परिवारले जनाएको छ।
घाइते दुवैको गौरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सकका अनुसार बसकलियाको टाउकोमा सातवटा र करिश्माको टाउकोमा छवटा टाका लगाइएको छ।
“हामीले कुन कसुर गरेका थियौँरु रातिको समयमा ढोका फुटाएर घरमा प्रवेश गरी आक्रमण गर्नु गम्भीर अन्याय हो। हामीले न्याय पाउनुपर्छ।”घाईते बसकाटीया को भनाई छ।
‘विशेष परिस्थितिमा पक्राउ गरिएको’ प्रहरीको दाबी
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमले भने सशस्त्र प्रहरीका इन्स्पेक्टर लोकेन्द्र पुलामीमाथि तस्करीको सामान नियन्त्रण गर्ने क्रममा भएको आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्।
मध्यरातमा घरभित्र प्रवेश गरी पक्राउ गर्दा कानुनी प्रक्रिया र स्थानीय जनप्रतिनिधिको रोहवर आवश्यक पर्ने–नपर्ने विषयमा प्रश्न उठेपछि डीएसपी गौतमले ‘विशेष परिस्थिति भएकाले मानिसलाई पक्राउ गरिएको’ प्रतिक्रिया दिएका छन्।
घरभित्र रहेका महिला र नाबालिकामाथि चिरपट प्रहार गरी घाइते बनाइएको आरोपबारे भने आफूलाई जानकारी नभएको डीएसपी गौतमले बताएका छन्।
पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र आफूहरूलाई न्याय दिलाउन माग गरेको छ।

