२०८३ भाद्र ५, शुक्रबार ०७:३१

विभिन्न बैंकको नाम र लोगो प्रयोग गरेर सामाजिक सञ्चाल मार्फत सर्वसाधारणलाई झुक्याउँदै साइबर ठगी गर्ने प्रयास भइरहेकाले सतर्क रहन भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले आमनागरिकलाई रहन आग्रह गरेको छ ।

धनुषा प्रहरीका अनुसार पछिल्लो समय व्हाट्सअप, इमो र भाइबर लगायतका सामाजिक सञ्जाल मार्फत अपरिचित व्यक्तिहरूले विभिन्न बैंकका खातावालालाई सम्पर्क गरी केवाईसी अपडेट गर्नुपर्ने भन्दै झुक्याएर ओटीपी माग्ने गरेको छ । ‘२४ घण्टाभित्र खाता बन्द हुन्छ’ जस्ता झुटा सूचना तथा विभिन्न प्रलोभन देखाएर सेवाग्राहीबाट गोप्य बैंकिङ विवरण लिने प्रयास भइरहेको प्रहरीको भनाइ छ । ठगीमा संलग्न व्यक्तिहरूले सम्बन्धित बैंकको लोगो प्रयोग गरी नक्कली आईडी बनाउने र त्यसबाट नागरिकताको स्क्यान कपी, बैंक खाताको आईडी तथा पासवर्ड, ओटीपी कोड लगायतका संवेदनशील विवरण माग्ने गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, कतिपय अवस्थामा बैंकको ATM कार्ड तथा चेकबुकसमेत कुरियरमार्फत पठाउन लगाउने गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस्ता विवरण तथा सामग्री अपरिचित व्यक्तिलाई उपलब्ध गराउँदा खाताबाट रकम चोरी हुनुका साथै अन्य आर्थिक तथा कानुनी जोखिमसमेत निम्तिन सक्ने प्रहरीले चेतावनी दिएको छ ।

धनुषा प्रहरीले कुनै पनि अपरिचित व्यक्ति वा शंकास्पद सामाजिक सञ्जाल अकाउन्टलाई नागरिकता वा अन्य परिचय खुल्ने कागजातको प्रतिलिपि, बैंक खाताको विवरण, पासवर्ड तथा इत्ए कोड उपलब्ध नगराउन आग्रह गरेको छ । बैंकसँग सम्बन्धित कुनै पनि सूचना वा केवाईसी अपडेट आवश्यक भएमा अपरिचित लिंक, सामाजिक सञ्जाल अकाउन्ट वा व्यक्तिको भर नपरी सम्बन्धित बैंकको आधिकारिक माध्यम वा शाखामा सम्पर्क गर्न धनुषा प्रहरीले सुझाव दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले प्रविधिको विकाससँगै साइबर अपराधका नयाँ नयाँ तरिका प्रयोग हुन थालेकाले नागरिकहरू थप सचेत हुनुपर्ने बताएका छन् । उनले यस्ता शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News