२०८३ भाद्र ६, शनिबार ०७:३४

मधेश केन्द्रित दलसहित नौ घटक राजनीतिक दल सम्मिलित ‘अग्रगामी मोर्चा’को मधेश प्रदेशस्तरीय बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न बैठकले अग्रगामी मोर्चाको संगठन विस्तार र आगामी राजनीतिक गतिविधिबारे विभिन्न निर्णय गरेको छ ।

सो बैठकले घटक दलहरूको प्रतिनिधित्व रहने गरी मधेश प्रदेश समन्वय समिति गठन गरेको छ । यसका साथै प्रदेशको आठवटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने जिम्मेवारीसमेत विभिन्न घटक दललाई बाँडफाँट गरिएको बताइएको छ । सो निर्णयअनुसार भदौ १० गतेसम्ममा मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा जिल्ला समन्वय समिति गठन गरी सक्नु पर्ने जनाइएको छ ।

यसका लागि सप्तरीमा जनमत पार्टी, सिरहामा बहुजन एकता पार्टी, महोत्तरीमा नेपाल जनमुक्ति पार्टी, सर्लाहीमा नागरिक उन्मुक्ति पार्टी, रौतहटमा आम जनता पार्टी, बारामा जसपा नेपाल र आजपा, धनुषामा जसपा नेपाल एवं पर्सामा प्रगतिशील लोकतान्त्रिक पार्टीलाई जिम्मेवारी दिइएको बताइन्छ ।

सो मोर्चाले संगठन विस्तार तथा जनपरिचालनलाई तीव्रता दिन दुईवटा ठूला क्षेत्रीय भेला गर्ने निर्णयसमेत गरेको बताइएको छ । भदौ २७ गते जनकपुरधाममा मधेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका प्रतिनिधि सहभागी हुने गरी संयूक्त क्षेत्रीय भेला आयोजना गरिने जनाइएको छ ।

त्यस्तै, रौतहट, बारा र पर्सालाई समेटेर असोज ३ गते वीरगन्जमा बृहत् क्षेत्रीय भेला आयोजना गर्ने निर्णय भएको छ । सो बैठकले हालै सिरहाका गणेश यादवको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको र बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको जनाइएको छ ।

सो मोर्चाले दुबै घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई तत्काल न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसंग मागसमेत गरेको छ ।

सो मोर्चामा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टीलगायत दलको सहभागिता रहने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News