२०८३ भाद्र ६, शनिबार १५:५४

भारतबाट नेपालतर्फ अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेका दुई नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ।

भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको अगरवा क्षेत्रमा खटिएको एसएसबीको ७१औँ वाहिनीको टोलीले शुक्रबार साँझ १९ बोरा युरिया मल, ५० किलो खैनी र चारवटा साइकलसहित दुई नेपालीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका क्षेत्रका १८ वर्षीय आदित्य नारायण मुखिया र १९ वर्षीय अमिरखा मुखिया रहेका छन्। आदित्य प्रभु मुखियाका छोरा र अमिरखा जयराम मुखियाका छोरा हुन्। दुवै नानसागरा घाटका बासिन्दा रहेको एसएसबीले जनाएको छ।

एसएसबीका अनुसार उनीहरूलाई अगरवा गाउँनजिक सीमा स्तम्भ नम्बर ३६० बाट करिब २०० मिटर भारततर्फ नेपालमा सामान लैजाने क्रममा नियन्त्रणमा लिइएको हो। बरामद १९ बोरा युरिया मलमा प्रत्येक बोरामा ४५ किलोका दरले कुल ८५५ किलो मल रहेको जनाइएको छ।
यसैबीच, सोही सीमाक्षेत्रको बडहरवा बोर्डरमा पनि एसएसबीले छुट्टै कारबाही गरेको जनाएको छ। नेपालतर्फ लैजाँदै गरिएको २४ बोरा युरिया मल, एउटा मोटरसाइकल र चारवटा साइकल बरामद गरिएको छ।

सुरक्षाकर्मीलाई देखेपछि तस्करहरूले सामान छाडेर भाग्न खोजेका थिए। एसएसबी टोलीले पीछा गर्ने क्रममा भारतीय नागरिक बीजबनी गाउँका गोपाल रायलाई पक्राउ गरेको जनाएको छ।

सीमा क्षेत्रमा अवैध रूपमा सामान ओसारपसार भइरहेको सूचनापछि एसएसबीले निगरानी तथा गस्ती बढाएको जनाएको छ। पछिल्ला दिनमा भारतबाट नेपालतर्फ युरिया मललगायतका सामग्री अवैध रूपमा भित्र्याउने क्रम बढेपछि सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको छ।
पक्राउ परेका व्यक्तिहरू तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सीमा शुल्क कार्यालय, मोतिहारीमा बुझाइएको एसएसबीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News