मधेश प्रदेशमा प्याजको मूल्य पछिल्लो एक वर्षको तुलनामा चर्को रूपमा बढेको छ । भारतबाट आयात हुने प्याजको मूल्य उतै बढेपछि त्यसको प्रत्यक्ष असर मधेशको बजारमा परेको बताइन्छ । अहिले मधेश प्रदेशको राजधानी जनकपुरधाममा समेत काठमाण्डु उपत्यकामा कायम खुद्रा मूल्यकै हाराहारीमा प्याज बिक्री हुन थालेको छ ।
चाडपर्व नजिकिँदै जाँदा प्याजको मूल्य बढेपछि उपभोक्ता, होटल तथा खाजा व्यवसायी र सडकपेटीमा व्यापार गर्नेहरू थप मारमा परेका छन् । दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको मूल्य बढ्दा सीमित आम्दानी भएका परिवारको भान्साको खर्चसमेत बढेको छ । काठमाण्डुको नयाँ बानेश्वरमा चटपटे र पानीपुरी बेचेर गुजारा गर्दै आएकी पार्वती थापाले प्याज महँगिएपछि चटपटेमा यसको मात्रा घटाउन थालेको एक महिना भइसकेको बताएकी छन् ।
पहिले प्रतिकिलो करिब ७० रुपैयाँमा खरिद गर्दै आएको प्याज अहिले १ सय रुपैयाँसम्म पुगेपछि व्यापार धान्न कठिन भएको उनले गुनासो गरिन् । त्यस्तै अवस्था जनकपुरधाममा साना खाजा पसल तथा सडकमा व्यापार गर्ने ठेलामा पनि प्याजको हाहाकार देखिन थालेको छ । चटपटे, पानीपुरी, समोसा तथा विभिन्न परिकारमा अनिवार्यजस्तै प्रयोग हुने प्याज महँगिएपछि व्यवसायीले मात्रा घटाउने वा अतिरिक्त लागत ग्राहकबाट असुल्ने अवस्था सिर्जना भएको छ ।
जनकपुरधामका गृहिणीहरूका लागि पनि प्याजको मूल्यवृद्धि चिन्ताको विषय बनेको छ । दैनिक भान्सामा प्रयोग हुने प्याजको मूल्य बढेपछि कतिपय परिवारले यसको खपत घटाउन थालेका छन् । अचार तथा सामान्य तरकारीमा प्रयोग हुने प्याज कटौती गरेर मासुजस्ता परिकारमा मात्रै प्रयोग गर्ने अवस्था आएको उपभोक्ताको भनाइ छ ।
स्थानीय थोक बजारमै मूल्य बढेपछि यसको असर मधेशका खुद्रा बजारमा देखिएको छ । काठमाण्डुमा प्याज प्रतिकिलो करिब १ सय रुपैयाँसम्म बिक्री भइरहेको बेला जनकपुरधामका बजारमा पनि सोही हाराहारीमा प्याज किन्नुपर्ने अवस्था आएको व्यवसायीहरू बताउँछन् । स्थानीय बजारमा ढुवानी, भाडा, श्रम तथा अन्य खर्च जोडिँदा खुद्रा मूल्य अझै बढ्न सक्ने व्यवसायीको भनाइ छ ।
आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले नेपाल प्याजका लागि करिब ९८ प्रतिशत भारतमा निर्भर भएको जानकारी दिए । भारतमै उत्पादन घट्नु, आपूर्ति कमजोर हुनु र चाडपर्वका कारण माग बढ्नुले नेपालमा प्याजको मूल्य बढेको उनले बताए । भारतबाट नेपालसम्म प्याज ल्याउँदा ल्यान्डिङ कस्ट नै प्रतिकिलो करिब ७० रुपैयाँभन्दा बढी पर्न थालेको व्यवसायीको दाबी छ ।
भारतमा मूल्य थप बढेमा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्ने उनीहरू बताउँछन् । यसले विशेषगरी सीमावर्ती मधेश प्रदेशका बजारलाई तत्काल प्रभावित गर्ने गरेको छ । भारतमा पछिल्लो समय प्याजको खुद्रा मूल्यमा पनि तीव्र वृद्धि भएको भारतीय सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन् ।
नयाँदिल्ली, मुम्बई र कोलकातालगायत ठूला सहरमा प्याजको मूल्य प्रतिकिलो ५० देखि ६० भारतीय रुपैयाँसम्म पुगेको बताइएको छ । भारी वर्षाका कारण ढुवानीमा अवरोध, नयाँ बाली बजारमा आउन ढिलाइ, पुरानो मौज्दात घट्नु तथा चाडपर्वको माग बढ्नु मूल्यवृद्धिका प्रमुख कारण मानिएका छन् । भारत सरकारले बजारमा आपूर्ति सहज बनाउन आफ्नो बफर स्टकबाट प्याज खुद्रा बजारमा पठाउने तयारीसमेत गरेको बताइएको छ ।
तर भारतमै आपूर्ति र मूल्यको अवस्था अस्थिर रहे नेपालमा त्यसको असर तत्काल पर्न सक्ने व्यवसायीको भनाइ छ । उपभोक्ता अधिकारकर्मीहरूले भने चाडपर्वको मुखमा व्यापारीले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने गरेको आरोप लगाएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले छोटो समयमै प्याजको मूल्य ४० प्रतिशत बढ्नु सामान्य नभएको भन्दै बजार अनुगमन र नियमन प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।
नेपालमा प्याज उत्पादन नगन्य हुने भएकाले भारतमाथिको अत्यधिक निर्भरता मूल्यवृद्धिको मुख्य कारण बनेको छ । काठमाण्डुको कालीमाटी बजारमै पछिल्लो समय भारतबाट मात्र सुकेको प्याज भित्रिरहेको छ । एक दिनमै ठूलो परिमाणमा प्याज आयात भइरहे पनि बजारमा मूल्य निरन्तर बढ्नुले आपूर्ति शृंखला र बजार व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै नेपालले भारतबाट १ करोड ७५ लाख १८ हजार ५६९ किलो प्याज आयात गरेको छ । यसको कुल आयात मूल्य ७१ करोड ८३ लाख ७ हजार रुपैयाँ बराबर छ । सोही आयातबाट सरकारले ६ करोड ४६ लाख ७० हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
चाडपर्व नजिकिँदै गर्दा प्याजको मूल्य अझै बढ्ने व्यवसायीको अनुमान छ । थोकमै प्रतिकिलो १ सय रुपैयाँ नाघे खुद्रा मूल्य थप महँगिने निश्चितजस्तै देखिन्छ । त्यसको सबैभन्दा ठूलो असर सीमित आम्दानी भएका मधेशका परिवार, साना होटल तथा खाजा व्यवसाय र सडकपेटीका व्यापारीमा पर्ने देखिन्छ ।
जनकपुरधामसहित मधेशका बजारमा अहिले काठमाण्डुकै हाराहारीमा प्याजको मूल्य पुग्नुले बजारबीचको मूल्य अन्तरसमेत घट्दै गएको देखाउँछ । भारतमा आपूर्ति सहज नभए र सरकारले प्रभावकारी बजार अनुगमन गर्न नसके आगामी चाडपर्वमा उपभोक्ताको भान्सा अझ महँगिने जोखिम बढ्नु चिन्ताजनक अवस्था रहेको होटेल व्यवसायी किसन मण्डल बताउँछन् ।
स्थानीय बजारमा तरकार ीसहित प्याजको भाउ चर्को रुपमा बढ्दासमेत सरोकारवालाले सुपथ दाम र गुणस्तरीयताको नापतौल र मूल्यको अनुगमन नगर्दा बाध्य भएर उपभोक्ताले महँगो प्याज नै उपभोग गर्न बाध्य रहेको उनी बताउँछन् । प्याजको मूल्य जनकपुरधाममा किलोको एक सय रुपैयाँ सम्ममा बिक्री वितरण हुने गरेको छ ।

