नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सरकारद्वारा संघीय व्यवस्थामाथि खतरा रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि आइतवार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले वर्तमान सरकारका पदाधिकारीहरु जुन व्यवस्थाबाट जितेर सत्तामा पुगेका छन् । ती व्यवस्थालाई नै समाप्त पार्ने खेलमा लागेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरु आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो महाधिवेशनबाट प्रदेश खारेज र स्थानीय निकाय समाप्त पार्ने प्रस्ताव पारित गरेका छन् । उनले भने देशको संघीय प्रणाली संघीयता, लोकतन्त्र र संविधानमाथि वर्तमान सरकार र तिनका पार्टीबाट नै खतरा छ ।
यसलाई बचाउन हामी लोकतन्त्र तथा संघीयतावादी पार्टी नेपाली कांग्रेसका साथीहरु लाग्नुपर्ने आवश्यकता रहेको छ । नेता निधिले संसारकै सबैभन्दा उत्कृष्ट संविधान र संघीयता, लोकतन्त्र तथा गणतन्त्रसहित संघीय प्रणाली हाम्रो देशको रहेको छ । योभन्दा उत्कृष्ट र सुन्दर व्यवस्था संसारकै कुनै देशमा छैन ।
यसको सफल कार्यान्वयन र प्रणाली व्यवस्थापन आवश्यक छ । समस्या आएभने व्यवस्था फालिदिने यो कुन राजनीति हो । यो भन्दा उत्कृष्ट व्यवस्था अब के हुन्छ । जहाँ संघीयता, लोकतन्त्र र गणतन्त्र तीनवटै व्यवस्था छ । हाम्रो संघीय व्यवस्थाको सबभन्दा राम्रो पक्ष के हो भने तीन तहको सरकारको व्यवस्था नेपाल बाहेक संसारको अरु कुनै व्यवस्था छैन ।
समयानुकुल संविधानलाई संशोधन र परिमार्जन सकिन्छ । तर समस्या आएमा व्यवस्था फालिदिने यो राम्रो होइन, हामीले यसलाई बचाउनेतर्फ लाग्नुपर्छ भन्ने कुरामा जोड दिए ।
नेता निधिले थप्दै भने वर्तमान संघीय प्रणालीलाई बचाउन वैचारिक स्पष्टता, प्रतिबद्धता र सक्रियता आवश्यक छ । यी तीनवटै कुरा भएमात्रै संविधान र संघीय प्रणालीको सफल कार्यान्वयन हुन सक्छ । त्यसैले हामी कांग्रेसी नेता कार्यकर्ताहरुलाई यी तिनवटै कुरामा लागेर काम गर्न आवश्यक छ । नत्र संघीयतामाथि रहेको खतरासँग लड्न सक्दैनौ ।

