अपडेट 
२०७७ जेष्ठ ६, मंगलवार ०९:२३

काठमाण्डु । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार एकै दिन ६२ जना संक्रमितको पुष्टि गरेपछि नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ सय ५७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपरान्ह ५३ जनामा संक्रमण पुष्टि गरेका हुन् । यसअघि बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको थियो ।

डा. देवकोटाले बाँके जिल्लामा ४७ जना संक्रमित फेला परेको बताए । संक्रमितहरु ४६ जना पुरुष र १ महिलाको भेरी अस्पतालको प्रयोगशालामा पीसीआर टेस्ट गरिएको थियो । त्यसैगरि मोरंग जिल्लामा १ जना पुरुषको विराटनगर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा, गुल्मीका १ जना पुरुषको भैरहवाको प्रयोगशालामा पीसीआर टेस्ट गरिएको थियो ।

त्यसैगरि धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, धादिङ र दाङका १÷१ जना पुरुषको संक्रमण पुष्टि भएको बताए ।

“उहाँहरू सबै जना १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका हुनुहुन्छ,“ डा.देवकोटाले भने, अब नेपालमा ३१ जिल्लाका नागरिकहरूमा कोरोना भाइरसको संक्रमण देखिएकोछ ।

कोरोना भाइरस पुष्टि भएका ४७ जनालाई नरैनापुर गाउँपालिकामै आईसोलेसन अस्पतालको स्थापना गरेर राखिएकोछ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलका अनुसार भेरी अस्पताल नेपालगञ्जको मातहातमा रहनेगरि नरैनापुरकै लक्षमणपुर प्राथमिक स्वाथ्य केन्द्रलाई आईसोलेसन अस्पतालका रुपमा सञ्चालनमा ल्याइएकोछ ।खजुराको क्यान्सर अस्पतालकै मोडलमा यो अस्पताल पनि सञ्चालन गर्न लागिएको उनले बताए ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोईन खाँका अनुसार गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका ७ जना महिलामध्ये २५ वर्षकी एक जनालाई कोरोना संक्रमण भएको हो ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ८ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा २ सय ६३ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । त्यस मध्ये १ सय ९२ जनाको भेरी अस्पताल नेपालगन्जमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यीमध्ये नरैनापुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको आइतबार मृत्यु भएको थियो। शनिबार संकलन गरिएका ७० र आइतबार संकलन गरिएका ११ जना गरी ८१ जनाको रिपोर्ट आउन बाँकी नै रहेको छ । बाँके हालसम्म ८१ जना संक्रमित भएका छन् ।

यसअघि रौतहटमा ८ जना र बारामा १ जनामा संक्रमण देखिएको थियो । संक्रमितहरु मध्ये २ सय ९८ जना पुरुष र ५९ जना महिला रहेका छन् । अहिलेसम्म ३१ जिल्लामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ४० जना, प्रदेश नम्बरं २ मा १ सय ३२ जना , वाग्मती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश नम्बर ५ मा १ सय ५९ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार पीसीआरबाट ३० हजार ७ सय २३ जना, आरडीटीबाट ६९ हजार ५ सय ६० जनामा परीक्षण गरिएको छ ।

पीसीआरबाट फागुनमा ४ सय ५६ जना, चैतमा ५ हजार १ सय ८४ जना, वैशाखमा २१ हजार ३ सय ४० जना तथा आरडिटी चैतमा ३ हजार ३ सय २१ जनाको, वैशाखमा ६० हजार ३ सय १९ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा २ हजार ५ सय ५८ जनाको पीसीआर टेस्ट गरिएकोछ । २० हजार ९० जना क्वारेन्टिनमा र आइसोलेशनमा ४ सय १२ जना रहेका छन् ।

यसैगरी कोभिड–१९ को कारणले मृत्यु भएका सिन्धुपाञ्चोककी महिलाको नजिक रहेकोका १ सय ७० जनाको स्वाब सङ्कलन गरेर कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको छ । डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिन र सेन्टर डिपार्टमेन्ट अफ पब्लिक हेल्थ टिचिङ अस्पतालले उनीहरुको कन्ट्याक्ट टे«सिङ गरिरहेको डा.सापकोटाले जनाए ।

Comment


Related News

Latest News

Trending News