२०८३ भाद्र १२, शुक्रबार ०९:४०

तराई–मधेशसहित देशका विभिन्न क्षेत्रमा आज रक्षाबन्धन पर्व हर्षोल्लासका साथ मनाइँदैछ।

रक्षाबन्धनका अवसरमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा रक्षासूत्र अर्थात् राखी बाँधेर दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा रहेको छ। दाजुभाइले पनि दिदीबहिनीको रक्षा गर्ने प्रतिबद्धतासहित उपहार तथा दक्षिणा दिने चलन छ। यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र आपसी विश्वासको प्रतीकका रूपमा लिइन्छ।

तराई–मधेशमा रक्षाबन्धनको विशेष सांस्कृतिक महत्व रहेको छ। बिहानैदेखि दिदीबहिनीहरू नयाँ तथा आकर्षक पहिरनमा सजिएर पूजा सामग्रीसहित दाजुभाइलाई राखी बाँध्न व्यस्त देखिन्छन्। बजारहरूमा समेत विभिन्न प्रकारका रंगीचंगी राखी, मिठाई, फलफूल तथा पूजा सामग्रीको किनमेल बढेको छ।

राखी बाँध्ने क्रममा दिदीबहिनीहरूले दाजुभाइको निधारमा टीका लगाई आरती गर्ने, मिठाई खुवाउने र हातमा रक्षासूत्र बाँध्ने गर्छन्। त्यसपछि दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा प्रदान गर्ने परम्परा छ।

रक्षाबन्धनकै दिन आज जनै पूर्णिमा, ऋषितर्पणी तथा क्वाटि खाने पवसमेत मनाइँदैछ। यस दिन हिन्दू धर्मावलम्बीहरूले धार्मिक विधिअनुसार नयाँ जनै धारण गर्ने तथा ऋषिहरूको तर्पण गर्ने परम्परा रहेको छ।

रक्षाबन्धनको अवसरमा परिवारका सदस्य तथा आफन्तहरू एकै ठाउँमा भेला हुने भएकाले पर्वले पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिन्छ। रोजगारी तथा अध्ययनका कारण घरबाट टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरू पनि सम्भव भएसम्म घर फर्किएर पर्व मनाउने गर्छन्।

रक्षाबन्धनले केवल दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई मात्र नभई परिवार, समाज र समुदायबीच आपसी सद्भाव, प्रेम तथा भाइचाराको भावना कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

Comment


Related News

Latest News

Trending News