रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका रौतहटका नागरिकमध्ये ६ जना परिवारको सम्पर्कमा आएका छन् । तर, एक प्रहरी हवलदारसहित १० जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
गत बुधबार आएको बाढीपछि रोजगारी तथा विभिन्न कामका सिलसिलामा रसुवामा रहेका रौतहटका १६ जना नागरिक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो । उनीहरूको खोजी भइरहेका बेला ६ जना सम्पर्कमा आएको प्रशासनले जनाएको हो ।
रौतहटका सिडियो दिनेश सागर भुषालले शुक्रबार सूचना जारी गर्दै सम्पर्कमा आएका र अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेका छन् ।
यी ६ जना परिवारको सम्पर्कमा
प्रशासनका अनुसार ईशनाथ नगरपालिका–४ का मोहम्मद एजार ९शेख मञ्जिल०, उमेर २४र२५ वर्ष, चन्द्रपुर नगरपालिका–४ का सम्राट सिलवाल र पवित्रा सिलवाल, उमेर २५ वर्ष तथा गढीमाई नगरपालिका–७ का मोबिदा खातुन, ३५ वर्ष, सविना खातुन, २४ वर्ष र सलमान अन्सारी, २० वर्ष परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् ।
१० जनाको अवस्था अझै अज्ञात
तर, गरुडा नगरपालिका–१ का सुधिर कुमार साह ९३४०, वृन्दावन नगरपालिका–२ का गौरव कुमार राउत ९३४०, वृन्दावन नगरपालिका–३ पिपरा गोठहटका समिर मन्सुरी ९३२० र गौर नगरपालिका–९ का प्रहरी हवलदार नवीन कुमार सिंह ९३५० अझै सम्पर्कविहीन छन् ।
त्यस्तै गुजरा नगरपालिका–८ पिपरा गोठहटका इशलाम खाँ ९३६०, राजदेवी नगरपालिका–९ की संगिता देवी ९५००, सोही स्थानका राहुल कुमार ९२५०, चन्द्रपुर नगरपालिका–३ गैडाटारका विवेक दवाडी ९२६०, सोही स्थानका रणबहादुर तिमिल्सिना ९२८० र राजदेवी नगरपालिका–२ का राम विनोद भगत ९४२० पनि सम्पर्कमा आएका छैनन् ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि रौतहटका नागरिकसमेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको जनाएको छ ।
प्रशासनले सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तलाई आफ्ना नजिकका सुरक्षा निकाय वा स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ ।

