शनिबार रातिसम्म भोटेको शी बाढीबाट मृत्यु भएका व्यक्तिका ६६९ वटा शव फेला परेका छन्। नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ वटा आंशिक अंग छन् । प्रहरीले जनाए अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ वटा शव फेला परेका छन् ।
फेला परेकामध्ये २० वटा शव आफन्तको जिम्मा लगाइएको छ । प्रभावित जिल्लामा फरेन्सिक चिकित्सकको अभाव हुँदा शवको व्यवस्थापनमा समस्या देखिएको प्रहरीले जनाएको छ । शव भण्डारणका लागि पर्याप्त ‘रेफ्रिजरे टिङ कन्टेनर’ नहुँदा प्रहरीले शव सुरक्षित राख्न कठिनाइ भोगिरहेको छ । अस्पतालका शवगृह भरिएपछि थप समस्या उत्पन्न भएको छ । शव भण्डारणमा समस्या देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार केही शव जमिनमा समाधिस्थ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बाढीमा परी मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन चुनौतीका रूपमा देखिएको जानकारी दिए । ‘शव व्यवस्थापनका लागि चाहिने ‘रेफ्रिजरेटिङ कन्टेनर’ निकै आवश्यक देखिएको छ,’ उनले भने, ‘हामीले यसबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग पहल गरिरहेका छौँ ।’
बाढीले बगाएर ल्याएका शवको सुरक्षित व्यवस्थापनमा ढिलाइ हुँदा महामारी फैलिन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । फेला परेका कतिपय शव पहिचान गर्न नसकिने अवस्थामा छन् भने कतिपय स्थानमा मानव अंग मात्रै फेला परेका छन् । शव संकलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। फेला परेका शवको तस्बिरसहितको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ । प्रहरी हेडक्वार्टरमा प्रहरी नायब महानिरीक्षक सुदर्शनप्रसाद कोइरालाको ने तृत्वमा ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याइएको छ। विपद् भएको दिन साँझदेखि नै उक्त केन्द्र सञ्चालनमा आएको छ । केन्द्रले सोही दिनदेखि फेला परेका शवको फोटो तथा भिडियोसहित विस्तृत विवरण सङ्कलन गरी व्यवस्थापनको काम गर्दै आएको छ । साथै, बाढीमा परी हराइरहेका व्यक्तिको विवरण सङ्कलन गरी खोज तथा उद्धारमा समन्वय गरिरहेको छ ।
कानुनी सहायता तथा मुचुल्का लेखनका लागि प्रभावित जिल्लामा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । भदौ १० गते आएको बाढीमा परी एक हजार ८६३ नेपाली र ५२३ विदेशी गरी कुल दुई हजार ३६२ जना बेपत्ता भएको सरकारी तथ्यांक छ । बेपत्ताको खोजीका लागि रसुवा, नुवाकोट हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिएको छ । हराइरहेका व्यक्तिको खोजीका लागि अनलाइनबाट निवेदन लिन थालिएको र खो जी कार्य तीव्र बनाइएको प्रहरी प्रवक्ता काफ्ले ले बताए । विभिन्न अस्पतालमा उपचाररत घाइतेको विवरण नेपाल प्रहरीको फेसबुक पे जमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ । सम्पर्कविहीन प्रहरी कर्मचारी तथा सर्वसाधारणको खोजतलासलाई पनि निरन्तरता दिइएको उनले बताए । सम्पर्कविहीन विदेशी पर्यटकको समन्वय तथा विवरण सङ्कलनका लागि पर्यटक प्रहरी परिचालन गरिएको छ ।
बाढीपछि हालसम्म एक हजार ५०६ पुरुष र ७९५ महिला गरी दुई हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका व्यक्तिलाई नुवाकोटमा रहेका नौवटा ‘होल्डिङ सेन्टर’मा राखिएको छ । बाढी प्रभावितलाई सुरक्षित आश्रय दिन प्रहरीले नुवाकोट र धादिङमा ‘होल्डिङ सेन्टर’ स्थापना गरेको छ। हाल धादिङको होल्डिङ से न्टरमा भने कोही पनि आश्रय लिएर बसेका छैनन् । घाइतेको उद्धार तथा उपचारका लागि ने पाल प्रहरीका २२ वटा मेडिकल टोली फिल्डमा खटिएका छन् । सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारका लागि कुकुर र ड्रोनसहित प्रहरी परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारका लागि आवश्यक उपकरणको अभाव हुँदा खोज तथा उद्धारमा चुनौती थपिएको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा अझै पनि हिलो र दलदल रहेकाले उद्धारमा समस्या भइरहेको उद्धारकर्मीले बताएका छन् ।
बाढीका कारण अवरुद्ध भएका मुख्य राजमार्गमा सवारी सञ्चालनमा ल्याइएको छ । भदौ १० गतेदेखि अवरुद्ध पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड शनिबारदे खि सञ्चालनमा आएको छ । विपद्को मौका छोपी चोरी, लुटपाटलगायत आपराधिक गतिविधि हुन नदिन प्रहरीले निगरानी बढाएको छ । त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए । ‘महिलाको शवबाट गहना निकाल्नेदेखि बाढीले बगाएर ल्याएको बैंकको भल्ट चोरी गर्नेसम्मलाई कारबाही गरिएको छ,’ उनले भने, ‘अप्ठ्यारो अवस्थामा ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ वा गलत अफवाह फैलाउने व्यक्तिको पहिचान गरी कारबाही भइरहेको छ ।’ विपद्को विषम परिस्थितिमा तत्काल खोज तथा उद्धार, स्वास्थ्य सहायता, राहत वितरण, ‘होल्डिङ सेन्टर’ व्यवस्थापन, शव संकलन तथा व्यवस्थापनमा प्रहरी संगठन दिनरात खटिरहेको उनले बताए ।

