२०८३ भाद्र १५, सोमबार १६:१८

परराष्ट्र मन्त्रालयले पुनःस्थापना र पुनर्निर्माणका लागि विस्तृत आवश्यकता मूल्याङ्कनपछि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने जनाएको छ ।

सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले तत्कालिन अवस्थाको उद्धार तथा राहतका लागि आवश्यक विशिष्टीकृत अन्तर्राष्ट्रिय सहयोग र दीर्घकालीन चरणमा पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने बताउनुभएको हो ।

उहाले परराष्ट्र मन्त्रालयमा ‘इमर्जेन्सी कन्ट्रोल रुम’ मार्फत हराइरहेका विदेशी नागरिक र तिनका परिवारसँग समन्वय तथा सहजीकरणको काम भइरहेको जानकारी दिनुभयो । तिब्बततर्फ रहेका नेपाली नागरिकहरूलाई हिल्सा लगायतका नाकाबाट सुरक्षित रूपमा स्वदेश फर्काउन चिनियाँ पक्षले सहजीकरण गरेको उहाले जानकारी दिनुभयो ।

उहाले हिमाली भेगका साँघुरा, गहिरा र भिरालो खोंचहरूका कारण उद्धार तथा राहत कार्य अत्यन्तै चुनौतीपूर्ण र जोखिमपूर्ण रहेको उल्लेख गर्नुभयो ।

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन रहेका छन् । प्रवक्ता पौडेलले पानीमा धेरै समय रहेर सडिसकेका र पहिचान हुन नसकेका शवहरूलाई अस्थायी रूपमा गाडिएको स्पष्ट पार्नुभयो । भविष्यमा परिवारले पहिचान गर्न र संस्कार गर्न सकून् भन्नाका लागि प्रत्येक शवको डीएनए नमुना संकलन गरी अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार सुरक्षित राखिएको उहाले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News