रौतहटमा पर्यटन पूर्वाधार निर्माणका क्रममा वास्तविक कामभन्दा बढी काम भएको देखाएर भुक्तानी लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले पर्यटन विकास कार्यालय, गौरबाट आर्थिक वर्ष २०८१र८२ मा परोहा नगरपालिका–९ स्थित रामपुर पोखरीको डिलमा निर्माण गरिएको अधुरो शिवनाथ भवन, भैरवनाथ मन्दिर तथा राधाकृष्ण मन्दिरको अधुरो भवनसम्बन्धी योजनामा अनियमितता भएको ठहर गरेको हो।
अख्तियारका अनुसार निर्माणका लागि स्वीकृत लागत अनुमानअनुसार काम सम्पन्न गर्नुपर्नेमा नापी किताब र कार्यसम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको विवरण उल्लेख गरिएको थियो। त्यसैका आधारमा उपभोक्ता समितिलाई बढी रकम भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
स्थलगत नापजाँच तथा प्राविधिक परीक्षण गर्दा वास्तविक निर्माणको परिमाण र नापी किताबमा उल्लेख गरिएको परिमाणबीच फरक भेटिएको थियो। बढी परिमाण देखाएर भुक्तानी गर्दा सरकारलाई ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बराबरको आर्थिक क्षति पुगेको अख्तियारको दाबी छ।
अनियमिततामा तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियरहरू सुदीप प्रकाश तिमल्सेना र नितेश कुमार पटेल, उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र साह तेली तथा कोषाध्यक्ष कुन्ती देवी संलग्न रहेको आरोप लगाइएको छ।
आयोगका अनुसार सरकारी कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीबीच मिलेमतोमा वास्तविकताभन्दा बढी काम देखाएर नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरिएको थियो। सोही विवरणका आधारमा उपभोक्ता समितिलाई बढी रकम भुक्तानी गरिएको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ।
अख्तियारले पाँचै जनालाई प्रतिवादी कायम गर्दै उनीहरूबाट ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बिगो असुलउपर गर्न माग गरेको छ। साथै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको समेत मागदाबी गर्दै मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
पर्यटन प्रवर्द्धनका लागि छुट्याइएको सार्वजनिक बजेटबाट निर्माण हुने संरचनामै वास्तविक काम र कागजी विवरणबीच फरक देखिएपछि अख्तियारले प्राविधिक मूल्यांकन र भुक्तानी प्रक्रियामाथि प्रश्न उठाउँदै कानुनी कारबाही अघि बढाएको हो।


