रसुवाको भोटेकोशी सहित विभिन्न नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले २ ९ लाख रुपैया भन्दा बढी रकम सहयोग गर्ने भएको छ ।
गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख ६५ हजार ५८२ रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको जनाइएको छ । गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झाका अनुसार उक्त रकममध्ये गाउँपालिकाको तर्फबाट ११ लाख ११ हजार १११ रुपैयाँ, सम्पूर्ण जनप्रतिनिधिको तर्फबाट ५ लाख २३ हजार ५०० रुपैयाँ, कर्मचारीको तर्फबाट ५ लाख ४६ हजार ७९९ रुपैयाँ तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तर्फबाट ७ लाख ८४ हजार १७२ रुपैयाँ सहयोग गर्ने निर्णय भएको हो ।
गाउँपालिकाले भदौ १० गते तिब्बत–नेपाल सीमा क्षेत्रबाट भोटेकोशी नदी हुँदै आएको अभूतपूर्व बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष झाले जनाए अनुसार कर्मचारी तथा शिक्षक–कर्मचारीबाट संकलित रकम उनीहरूको सेवा सुविधाबाट निश्चित दिनको तलब कट्टा गरी योगदान गरिएको हो । अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायकस्तरबाट पाँच दिन र श्रेणीविहीन सहयोगीस्तरबाट दुई दिनको तलब योगदान गरिएको हो ।
त्यसैगरी, माध्यमिक तहका शिक्षकबाट सात दिन, आधारभूत तहका शिक्षकबाट पाँच दिन तथा सहयोगी कार्यकर्ता र कर्मचारीबाट दुई दिनको तलब योगदान गरिएको गाउँपालिकाले जनाएको छ । बैठक पश्चात एक प्रेस विज्ञप्ति जारी गरी गाउँपालिकाले राहत सहयोग बारे जानकानरी समेत गराएको छ । सो विज्ञप्तिमा बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित पुनःस्थापना र सहज जनजीवनका लागि शुभकामना व्यक्त गरिएको छ ।
राष्ट्रिय विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत मिथिलेश ठाकुरले सहानुभूतिमा मात्र सीमित नरही सहयोग, समन्वय, सहकार्य र ऐक्यबद्धताका साथ राहत तथा पुनःस्थापना अभियानमा जुट्न सबैलाई आग्रह गरे ।


