नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहंकार त्यागेर सबैलाई साथमा लिएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले संकटको घडीमा राष्ट्रलाई एकजुट बनाउने मुख्य जिम्मेवारी प्रधानमन्त्रीकै भएकाले अहंकार त्यागेर सबैलाई साथमा लिएर अघि बढ्न आग्रह गर्नुभएको हो । उहाले संकटको समयमा जनताले आश्वासन र सामाजिक सञ्जालको पोस्ट नभई कार्यक्षेत्रमा सरकारको प्रत्यक्ष उपस्थिति खोजेको धारणा राख्नुभयो । अहिलेको अवस्थामा सेना परिचालन मात्र गरेर नपुग्ने भन्दै प्रचण्डले जनपरिचालन र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय नभएसम्म विपद्को समाधान कठिन हुने उल्लेख गर्नुभयो । सुरुवाती दिनको तदारुकता र पछिल्लो चरणको कार्यशैलीमा विरोधाभास देखिएको र कार्यक्षेत्रमा सरकार उद्धार कार्यमा असफल भएको जनगुनासो व्यापक रूपमा उठेको उहाले बताउनुभयो । उहाले टनेल उद्धारमा दुई दिनसम्म Úहामी आफैँ गर्छौँÚ भन्ने महत्त्वाकांक्षा र अहंकार देखाउँदा ढिलाइ भएको र अन्त्यमा सुरक्षा निकायले हात उठाउनुपर्ने स्थिति बनेको जिकिर गर्नुभयो ।
उहाले विदेशी तथा प्राविधिक विज्ञहरूले सहयोग गर्छौँ भन्दा पनि सरकारले समयमै तत्परताका साथ सहयोग जुटाउन नसकेको उल्लेख गर्नुभयो । उहाले अहिले सबै दलहरूले सरकारलाई साथ दिन्छौँ भनिरहँदा प्रधानमन्त्रीले प्रतिपक्ष तथा आफ्नै दलका सांसदहरूलाई समेत विश्वासमा लिन नसकेको टिप्पणी गर्नुभयो ।


