जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार जना र कोशी प्रदेशका एक जना प्रदेश सभा सदस्यसहित दुई दर्जनभन्दा बढी जनप्रतिनिधि तथा पार्टी कार्यकर्तालाई निष्काशन गरेको छ ।
ललितपुरस्थित बालकुमारीमा भदौ १६, १७ र १८ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । बैठक पार्टीका संरक्षक महन्थ ठाकुरको उपस्थितिमा तथा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको थियो । जसपा नेपालले जनाए अनुसार लुम्बिनी प्रदेशमा पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गर्नुका साथै सरकारमा समेत सहभागी भएको आरोपमा चार प्रदेश सभा सदस्यलाई कारबाही गरिएको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नं. ३ -१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फ निर्वाचित हेमा वेल्वासे -केसी), बाँके निर्वाचन क्षेत्र नं. २ -१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नं. २ -२) बाट निर्वाचित आदेशकुमार अग्रवाल कारबाहीमा परेका छन् । यसैगरी, कोशी प्रदेशबाट समानुपातिकतर्फ निर्वाचित प्रदेश सभा सदस्य निर्मला तावालाई पनि पार्टीको नीति, सिद्धान्त, विधान तथा निर्देशनविपरीत कार्य गरेको भन्दै पार्टी सदस्यताबाट निष्काशन गरिएको जसपाले जनाएको छ । जसपा नेपालभित्र प्रदेश सरकारमा सहभागिता र सत्ता समीकरणका विषयमा विगतदेखि नै मतभेद देखिँदै आएको थियो ।
पार्टी केन्द्रले लिएको निर्णयभन्दा फरक ढंगले प्रदेशमा राजनीतिक गतिविधि सञ्चालन भएपछि प्रदेश तहका केही सांसद तथा नेतामाथि अनुशासनको प्रश्न उठेको थियो । विशेषगरी लुम्बिनीमा प्रदेश सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने निर्णय पार्टीको केन्द्रीय नीतिसंग बाझिएको भन्दै सम्बन्धित सांसदहरूलाई स्पष्टीकरणसमेत सोधिएको थियो । पार्टी नेतृत्वले पटक– पटक संस्थागत निर्णय पालना गर्न निर्देशन दिँदै आए पनि त्यसविपरीत गतिविधि जारी राखेको निष्कर्षसहित पछिल्लो बैठकले कडा कारबाही गरेको छ । पार्टीले गत प्रतिनिधि सभा निर्वाचन २०८२ का क्रममा पनि आफ्नो नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत गतिविधि गर्ने स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ ।
कारबाहीमा सिरहा, पर्सा, खोटाङ, भोजपुर, उदयपुर, इलाम र सुनसरी जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसमेत परेका छन् । सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलित्तर महतो, सुखीपुर/नन्कारकट्टी क्षेत्रका रमेशकुमार यादव, धनगढीमाई नगरपालिका–७ का विजयकुमार महतो तथा कर्जन्हा नगरपालिका–६ का प्रकाशमान श्रेष्ठ, वडा नं. ८ का शम्भुकुमार व्यार, वडा नं. ९ का मोहम्मद मुस्तकिम र वडा नं. ११ का किस्मत राईलाई कारबाही गरिएको छ । पर्साको कालिकामाई गाउँपालिका–३ का अध्यक्ष सञ्जयकुमार पटेल र वडा नं. १ का अध्यक्ष लालबाबु राउत बरै पनि निष्काशित भएका छन् ।खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपीलासगढी गाउँपालिकाका उपप्रमुख गुरुराज राई तथा चिरुङ नगरपालिकाका विभिन्न जनप्रतिनिधि पनि कारबाहीमा परेका छन्।
त्यहाँका वडा अध्यक्ष मुग्धन राईसहित वडा सदस्यहरू सहरमान राई, कल्पना राई, दलित महिला सदस्य गीता विक र रामधन राईलाई पार्टी सदस्यताबाट निष्काशन गरिएको जसपाले जनाएको छ । त्यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का अध्यक्ष बालकृष्ण राई, उदयपुरको लिचिङवुङ गाउँपालिका–४ का अध्यक्ष छत्रबहादुर राई, इलामको माङ्सेबुङ गाउँपालिकाका उपप्रमुख विनोद नेम्वाङ, सन्दकपुर गाउँपालिका वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ तथा सुनसरीको कोशी गाउँपालिका–६ का अध्यक्ष जुडीलाल कडौरियामाथि पनि कारबाही गरिएको छ ।
केन्द्रीय कार्यकारिणी बैठकले ‘नेपालको वर्तमान राजनीतिक अवस्था र जसपा, नेपालको रणनीतिक दिशा’ विषयक राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । साथै अग्रगामी मोर्चाको गठनलाई स्वागत तथा समर्थन गर्ने निर्णय गरिएको महासचिव डा. सुरेन्द्रकुमार झाले बताए । बैठकले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।


