रौतहटका एक किसान भारतीय कुखुरा तथा चल्लाको अवैध आयात रोक्नुपर्ने र स्थानीय बजारमा मासुको मूल्यमा भइरहेको मनपरी नियन्त्रण गर्नुपर्ने माग गर्दै आमरण अनशनमा बसेका छन् ।
जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटका सचिव राधेश्याम साहले शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालयअगाडि आमरण अनशन सुरु गरेका हुन् । स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई पटक–पटक समस्या समाधानका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै आफू बाध्य भएर अनशनमा बसेको साहको भनाइ छ । संघका अनुसार खुला सीमाको फाइदा उठाउँदै भारतबाट दैनिक ठूलो परिमाणमा कुखुरा तथा चल्ला अवैध रूपमा नेपाल भित्रिने गरेका छन् ।
सस्तो मूल्यमा भारतीय कुखुरा बजारमा आउँदा स्थानीय किसानले उत्पादन गरेको कुखुरा बिक्री गर्न कठिन हुने र लागतसमेत उठाउन नसक्ने अवस्था सिर्जना भएको संघको दाबी छ । किसानको मुख्य गुनासो तस्करी मात्रै नभई बजार व्यवस्थापनसँग पनि जोडिएको देखिन्छ । किसानका अनुसार उत्पादन लागत बढ्दै गए पनि बजारमा मूल्य निर्धारण पारदर्शी छैन ।
बिचौलिया र केही व्यवसायीले किसानबाट सस्तोमा कुखुरा खरिद गर्ने तर उपभोक्तासम्म पुग्दा मासुको मूल्य अत्यधिक बढाउने गरेको आरोप संघले लगाएको छ । अवैध कुखुरा तथा चल्ला तस्करीमा प्रहरी प्रशासनकै संरक्षण रहेको आरोपसमेत संघले लगाएको छ । तर, उक्त आरोपको स्वतन्त्र पुष्टि भने भएको छैन । किसानले भने सीमामा हुने अवैध आयातमाथि प्रभावकारी निगरानी र कारबाही हुनुपर्ने माग गरेका छन् । संघले भारतीय कुखुरा, चल्ला तथा मासुको अवैध आयात पूर्ण रूपमा रोक्न, संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा स्थानीय बजारमा मासुको वैज्ञानिक र पारदर्शी मूल्य निर्धारण गर्न माग गरेको छ ।
त्यसैगरी जिल्लाभित्रै पर्याप्त उत्पादन हुँदाहुँदै बाहिरी जिल्लाबाट कुखुरा भित्र्याउने प्रवृत्तिले स्थानीय किसान थप मारमा परेको भन्दै कुखुराको आयात– निर्यातसम्बन्धी नीति पुनरावलोकन गर्न पनि संघले माग गरेको छ । कुखुराको बजारमा देखिएको समस्या किसान र उपभोक्ता दुवैसँग जोडिएको छ ।
एकातर्फ उत्पादन लागत बढिरहेको भन्दै किसानले उचित मूल्य नपाएको गुनासो गरिरहेका छन् भने अर्कोतर्फ उपभोक्ताले मासु महँगो भएको गुनासो गर्दै आएका छन् ।


