बाराको पचरौता नगरपालिका–७ स्थित बेनौली क्षेत्रमा प्रहरीले १५१ किलो लागुऔषध गाँजा बरामद गरेको छ। ठूलो परिमाणमा गाँजा बोकेर हिँडिरहेका ८–९ जनाको समूह भने प्रहरीको निगरानीमा परेपछि गाँजाका पोका खेतमै छाडेर फरार भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेका अनुसार शनिबार राति करिब १०ः३० बजे प्रहरी चौकी श्रीनगर बैरिया र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीको संयुक्त टोलीले पचरौता–७ स्थित बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतमा एम्बुस थापेर निगरानी गरिरहेको थियो।
सोही क्रममा धानखेतको आली हुँदै ८–९ जना अपरिचित व्यक्ति पिठ्युँमा झोलाजस्तो बनाएर सामान बोकी एकतर्फ आउँदै गरेको अवस्थामा प्रहरीको नजरमा परेका थिए। संयुक्त प्रहरी टोलीले उनीहरूलाई रोक्न तथा नियन्त्रणमा लिन खोज्दा समूहले बोकेर ल्याएको गाँजाका पोका खेतमै फालेर अँध्यारोको फाइदा उठाउँदै फरार भएको डीएसपी घलेले बताए।
प्रहरीले खेतबाट ९ वटा पोका बरामद गरेको थियो। तौल गर्दा जुटको बोरासहित ती पोकामा कुल १५१ किलो गाँजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनाको प्रकृतिले सीमावर्ती क्षेत्र हुँदै ठूलो परिमाणमा गाँजा ओसारपसार गर्ने प्रयास भएको देखिए पनि गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान खोजिएको थियो भन्ने विषय भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
बरामद गाँजा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ। गाँजा छाडेर फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


