वीरगंजको गण्डकमा रहेको क्लार्क रिसोर्टस्थित ‘गोल्डेन फिगर क्यासिनो’बाट पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शनिबार राति क्यासिनोमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। गाउँपालिका अध्यक्ष यादव ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो गाडी चढेर ल्न क्यासिनो पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नेपालमा नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न कानुनी रूपमा पूर्ण प्रतिबन्ध छ।
कानुनी व्यवस्थाको धज्जी उडाउँदै जनप्रतिनिधि नै सरकारी सवारी साधनको प्रयोग गरी क्यासिनो छिरेको विषयलाई प्रहरीले गम्भीरतापूर्वक लिँदै छानबिन अघि बढाएको छ।
प्रहरीले पक्राउ परेका सबैजनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ। उनीहरूलाई अदालतबाट म्याद थप गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने र अन्य अभियुक्तहरूको विवरण पनि सार्वजनिक गरिने पर्सा प्रहरीले जनाएको छ।


