नौ दिनदेखि माटो, ढुंगा र लेदोले बाहिरी संसारसँग सम्बन्ध टुटेको त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र शुक्रबार बिहान उद्धार टोलीले आवाज दियो, ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ ।’ केही क्षणपछि अँध्यारो सुरुङभित्रबाट जवाफ आयो, ‘हुन्छ ।’ नौ दिनदेखि जारी खोज तथा उद्धार अभियानमा त्यो आवाज पहिलो ठूलो सफलता थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणका प्राविधिकका लागि त्यो सामान्य जवाफ थिएन। अथाह प्रयासपछि सुरुङभित्र मानिस जीवित रहेको पहिलो प्रमाण थियो । मेसिनले खनेर, ड्रिलले प्वाल पारेर, चट्टान विस्फोट गरेर र हातैले लेदो पन्छाउँदै उद्धार टोली अन्ततः मानिससम्म पुग्ने अवस्थामा पुगेको थियो । सुरुङबाट आवाज आएको खबरसँगै उद्धारमा नयाँ आशा र उत्साह थपियो । केही समयपछि मेकानिकल फोरम्यान सञ्जय साहलाई जीवितै बाहिर निकालियो। त्यसपछि मेकानिकल सुपरभाइजर कविर महर्जन पनि उद्धार भए। भदौ १० गतेको बाढीपछि बाहिरी संसारसँग सम्पर्कविहीन भएका उनीहरू १० दिनपछि अँध्यारो सुरुङबाट खुला आकाशमुनि फर्किए ।
भदौ १० गते बिहान त्रिशूली–३ ए जलविद्युत् आयोजनामा सधैँ झैँ काम भइरहेको थियो । पूर्ण मर्मतसम्भारका लागि बन्द रहेको ६० मेगावाटको आयोजनाको भूमिगत विद्युत्गृहमा प्राविधिक र इन्जिनियरहरू आ– आफ्नो काममा व्यस्त थिए । सञ्जय र कविर पनि मर्मतसम्भारकै काममा खटिएका थिए । तर केही घण्टामै परिस्थिति बदलियो । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले आयोजना क्षेत्रलाई घेर्न थाल्यो ।
पानीसँगै आएको लेदो, ढुंगा, रुखका ठुटा र भत्किएका संरचनाका भग्नावशेष आयोजनास्थलमा थुप्रिन थाले । मेकानिकल फोरम्यानको जिम्मेवारीमा रहेका सञ्जयले आफू सुरक्षित रूपमा बाहिर निस्कन सक्ने अवस्था हुँदाहुँदै सहकर्मीहरूलाई पहिले बाहिर पठाउन थाले । एकपछि अर्को गर्दै सहकर्मी बाहिरिए । तर उनी आफैँ निस्कने बेला बाढीले ल्याएको लेदो र भग्नावशेषले बाहिरिने बाटो थुनिसकेको थियो । तर सञ्जय सुरुङभित्रै रोकिए । त्यहीँ रहेका कविर पनि बाहिर निस्कन पाएनन् ।
केही समयअघिसम्म मानिस ओहोरदोहोर गरिरहेको सुरुङको प्रवेशद्वार माटो, ढुंगा र लेदोले यसरी पुरिएको थियो कि सुरुङको मुखसमेत पहिचान गर्न कठिन भयो । सञ्जय र कविरको अवस्थाबारे कुनै जानकारी नआएपछि आफन्त र सहकर्मीमा चिन्ता बढ्यो । घटनास्थल पुगेको उद्धार टोलीसँग सुरुङभित्र उनीहरू कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने यकिन जानकारी थिएन । बाहिरबाट सम्पर्क गर्ने कुनै माध्यम पनि थिएन । पहिले सुरुङको प्रवेश क्षेत्र पहिचान गर्नुपर्ने र त्यसपछि त्यहाँसम्म पुग्ने बाटो खोल्नुपर्ने चुनौती थियो ।
सडकसमेत बाढीले बगाएकाले आवश्यक मेसिन र उपकरण घटनास्थल पु¥याउन कठिन थियो । दुई दिनसम्म सुरुङमा पुग्ने ठोस बाटो नखुले पनि खोजी रोकिएन । सुरुङको मुखबाट प्रवेश सम्भव नभएपछि जमिनको सतहबाट ड्रिल गरेर सुरुङसम्म पुग्ने योजना बनाइयो । करिब नौ मिटर तल सुरुङको माथिल्लो भाग रहेको अनुमानका आधारमा ड्रिल चलाइयो। यसरी सुरुङको ‘ क्राउन’सम्म पुग्ने पाँचवटा ठाडा प्वाल बनाइयो । ती प्वालबाट मानिस निकाल्न सम्भव थिएन । तर सुरुङभित्र अक्सिजन पठाउन भने थालियो। यसले भित्र रहेका व्यक्तिको जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्यो ।
त्यसपछि करिब ४० मिटर माथिल्लो भागमा ‘केबल एक्सेस सुरुङ’ फेला प¥यो। मानिस हिँड्न मिल्ने यो सुरुङ भूमिगत विद्युत्गृहसम्म पुग्ने वैकल्पिक बाटो बन्न सक्थ्यो । तर त्यहाँ पनि अवरोधै अवरोध थिए । करिब ४० सेन्टिमिटर बाक्लो संरचना हटाउन नियन्त्रित विस्फोट गरियो। त्यसपछाडि पानी र लेदो जमेको भेटियो । पानी निकाल्दै अघि बढ्दा फेरि चट्टानले बाटो रोक्यो। चट्टान हटाएपछि लेदोको थुप्रो भेटिन्थ्यो ।
भदौ १३ गतेदेखि एक्स्काभेटर, ह्विल लोडरलगायत उपकरण प्रयोग गरेर सुरुङतर्फ थुप्रिएको लेदो, बालुवा र भग्नावशेष हटाउन थालियो । ब्रेकरले फुटाउन सकिने चट्टान फुटाइयो भने ठूला चट्टान विस्फोट गरेर हटाइए । पाँच दिनमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा तथा भत्किएका संरचनाका कंक्रिट स्ल्याब, बीम र पिलर हटाइयो। कतिपय चट्टान घरको आकारसम्मका थिए । उद्धारको काम रातदिन जारी रह्यो। सडक पहुँच नभएकाले मेसिन मर्मतका लागि आवश्यक सामग्रीसमेत हेलिकप्टरबाट पु¥याउनुपरेको थियो ।
सुरुङबाट प्रतिअनुमान दुई लिटर प्रतिसेकेन्डका दरले पानी आफैँ बाहिर निस्किरहेको थियो । पानीको दबाब ठूलो नभएकाले सुरुङभित्र ठूलो परिमाणमा पानी नजमेको हुन सक्ने अनुमान गरियो । केबल डक्ट उकालो संरचनामा रहेकाले माथिल्लो भागमा तुलनात्मक रूपमा सुरक्षित ठाउँ हुन सक्ने प्राविधिक आशा पनि थियो । भदौ १८ गते उद्धार टोली केबल डक्टको प्रवेश क्षेत्रमा पुग्यो । करिब १५ फिट माटो, ढुंगा र भग्नावशेष हटाएपछि टोली सुरुङभित्र प्रवेश ग¥यो । केही अगाडि बढेपछि फेरि लेदो र भग्नावशेषले बाटो साँघुरियो ।
ठूला मेसिन भित्र लैजान सम्भव भएन । त्यसपछि उद्धारकर्मी आफैँले हातले लेदो र भग्नावशेष पन्छाउँदै बाटो खोल्न थाले । सुरुङको साँघुरो भागमा मानिस छिर्न मिल्ने ठाउँ बनाउँदै उनीहरू बिस्तारै अगाडि बढे । अन्ततः त्यही प्रयासले सञ्जयसंगै कविरसम्म उद्धार टोलीलाई पु¥यायो । सञ्जय र कविरको जीवित उद्धारसँगै अन्य घटनाले पनि विपत्तिमा हराएका परिवारमा आशाको सानो झिल्को जगाएको छ


