सञ्चालकहरुको बदनियतले टाट पल्टिन लागेको जानकी फाइनान्स कम्पनी लिमिटेड अब मुक्तिनाथ विकास बैंकमा विलय हुन लागेको छ ।
जनकपुरधामको पहिलो फाइनान्स कम्पनीको रुपमा रहेको जानकी फाइनान्स कम्पनीका सञ्चालकहरुले पछिल्लो समयमा ऋणीहरुबाट अग्रिम कमिसन लिएर कमजोर धितोमा ऋण प्रवाह गर्न थालेपछि कम्पनी टाट पल्टिन लागेको थियो । कम्पनी धराशायी हुने संकेतहरु देखिन थालेपछि नेपाल राष्ट्र बैंकले कारवाही सहित निगरानीमा राखेको थियो ।फाइनान्स कम्पनीलाई ऋण प्रवाह र निक्षेप संकलनमा समेत रोक लगाएको थियो ।त्यो अझै फुकुवा नभएको स्रोतहरुले जनाएका छन् ।
विकास बैंकको रुपमा उल्लेख्य प्रगति गरेको मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिसन) गर्ने सहमति भएसँगै ‘क’ वर्गको राष्ट्रिय बैंकको मान्यता पाउने भएको छ । लामो समयदेखि बैंक मर्जरको प्रकृया रोकिएपनि मुक्तिनाथ विकास बैंकले मर्जरको प्रकृयालाई अगाडी बढाएसँगै नेपाली बैंकिङ क्षेत्रमा मर्जरको माहोल बनेको छ । नेपाली बैंकिङमा ‘मर्जरको माहोल’ धेरैपछि बनेको हो । मुक्तिनाथ विकास बैंकले सिन्धु र जानकीलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने प्रकृया अगाडी बढेको उच्चस्रोतहरुले जनाएका छन् । योसँगै यी कम्पनीहरुका आधारभूत सेयरधनीहरुको सेयर कारोबारसमेत रोक्का गरिएको छ ।
दुई कम्पनीलाई एकैपटक प्राप्ति गरेर विकास बैंकबाट वाणिज्य बैंक बन्न लागेको नयाँ बैंकको नाम मुक्तिनाथ बैंक हुनेछ । एकै पटक दुईवटा वित्तिय संस्थालाई प्राप्ति गर्ने मुक्तिनाथ बैंक पहिलो हुने भएको छ ।हाल सम्म एकै पटक कुनै विकास बैंकले दुईवटा संस्थालाई एकसाथ प्राप्त गरेको थिएन् । बैंकको सिइओ भने मुक्तिनाथ विकास बैंककै सिइओ तारा मानन्धर हुने सहमति भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि एकीकृत कारोबार सुरु हुनेछ ।
जनकपुरधामको पहिलो र ऐतिहासिक जानकी फाइनान्स कम्पनीको अब इतिहास मेटिनेछ ।कम्पनीको नाम समेत हराउने छ ।भ्रष्ट केहि सञ्चालकहरुको कारण फाइनान्स कम्पनी डुब्न लागेपछि राष्ट्र बैंकको प्रयासमा मर्जरको प्रकृया अगाडी बढेको छ । साना ऋणीहरुलाई जानकी फाइनान्स कम्पनीमा चर्को ब्याज तिर्नुपरेपनि ऋण प्राप्ति प्रकृया सहज थियो ।बाणिज्य बैंकहरुको जस्तो ऋण लिन लामो समय नलाग्ने भएकोले हतारमा ऋण लिन जानकी फाइनान्समा ऋणीहरु जाने गर्थे ।यद्यपी फाइनान्स कम्पनी भएकोले ब्याजदर बाणिज्य बैंकहरुको तुलनामा चर्को थियो। जनकपुरधाममा राष्ट्रिय वाणिज्य बैंकको दुईवटा शाखा र नेपाल बैंक लिमिटेडको दुईवटा शाखा मात्र रहेको बेला जानकी फाइनान्स कम्पनीको स्थापना गरिएको थियो ।
बैंकका संस्थापकहरु मध्ये पछिल्लो समयमा केहि संस्थापकहरुले ऋणीसित मोटो रकम कमिसन लिएर कमसल धितोमा ऋण प्रवाह गर्न थालेका थिए ।त्यसबाट ऋणी र कम्पनी दुबै डुब्ने भएपनि सञ्चालकहरुले मोटो रकम कमिसन पाउने गरेका थिए ।कुनै बेला देशकै वित्तिय संस्थाहरु मध्ये अग्रस्थानमा रहेको जानकी फाइनान्स कम्पनीको इतिहास नै अब समाप्त हुने भएको छ । जनकपुरधामलाई केन्द्र बनाएर स्थापित भएको सहयोगी विकास बैंकको इतिहासपनि समाप्त भइसकेको छ ।केन्द्रिय कार्यालय जनकपुरधाममा रहेको सहयोगी विकास बैंक सिटिजन्स बैंकमा मर्ज भइसकेको छ ।सहयोगी विकास बैंकको सम्पूर्ण सम्पत्ती सिटिजन्स बैंकमा समाहित भइसकेको छ ।
सहयोगी विकास बैंकले यस भेगको आर्थिक उन्नतीका लागि सहज रुपमा कर्जा प्रवाह गरिरहेको थियो ।त्यस बैंकमा पनि उथलपुथल हुन थालेपछि मर्ज गरिएको थियो । सिटिजन्स बैंकको जनकपुरधाममा दुईवटा शाखा रहेपनि ऋण लगायतका सुबिधाका लागि सहयोगी विकास बैंक जस्तो सहज छैन् ।सहयोगी विकास बैंकको प्रधान कार्यालयका लागि बनाइएको भवनमापनि सिटिजन्स बैंकको शाखा कार्यालय रहेको छ ।सहयोगी विकास बैंकको बिभिन्न कार्यक्रमहरु जनकपुरधाममा हुने भएकोले यहाँको बिभिन्न क्षेत्रको कारोबारमा समेत बृद्धि भएको थियो ।
जानकी फाइनान्स कम्पनी स्थापना भएको ३१ औं वर्षमा आफ्नो अस्तित्व समाप्तगर्दै मुक्तिनाथ विकास बैंकमा विलिय हुन लागेको छ ।नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको मान्यता प्राप्त जानकी फाइनान्स कम्पनीले हाल सम्म आफ्नो केन्द्रिय कार्यालय स्थापना गर्न सकेको छैन् ।बहालकै घरमा कम्पनीको प्रधान कार्यालय रहेको छ । कम्पनी विलयपछि शेयरको दर सार्वजनिक गरिनेछ ।मुक्तिनाथ बैंकले जानकी फाइनान्स कम्पनीको शेयरलाई निकै कम मुल्यांकन गरेको स्रोतहरुले जनाएका छन् ।


